सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध


काठमाडौँ । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ ।

साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७.२० रुपैयाँ समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ । सिद्धार्थ बैंकमा हाल १ हजार ९५५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

सम्झौता पश्चात् बैंकका कर्मचारीहरुले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरु समेत उपयोग गर्न सक्ने छन् । बैंकका कर्मचारीहरुले नियमानुसारको अवधि तथा प्रकृया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।