वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन


वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आवमा ६ अर्ब ६० करोड रुपैयाँ मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले ६ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवमा २ अर्ब ९४ करोड रुपैयाँ मूल्यका १ हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा २ अर्ब एक करोड रुपैयाँ मूल्यका ९ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै १ अर्ब ३७ करोड रुपैयाँ मूल्यका ५ हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् ।

सोही अवधिमा १ अर्ब ११ करोड रुपैयाँ मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा ७१ करोड रुपैयाँका १ सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने ७४ करोड रुपैयाँको ३ सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा ४३ करोड ३१ लाख मूल्यका ४ हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगञ्ज नाका हुँदै गत आवमा १ अर्ब ६४ करोड रुपैयाँ मूल्यका साना–ठूला २ हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट १ अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।