काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ट म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले बुधबार देखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ अटो मेला सुरू गरेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ट म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले आयोजना गरेको यो मोबिलिटी एक्स्पो साउन २५ गतेसम्म संचालन हुनेछ ।
एक्स्पोको पहिलो दिन २ दर्जन बढी नयाँ मोडलका सवारी साधन लन्च भएका छन् । एक्स्पोमा ग्राहक तान्न सवारी बिक्रेतालहरुले बिभिन्ने छुट अफर घोषणा गरेका छन् । उनीहरूले लन्च गरेका नयाँ तथा पुराना स्टक गाडीमा बम्पर छुट घोषणा गरेका हुन्। यसले बिक्रेता तथा क्रेता दुवैलाई फाइदा पुग्ने देखिन्छ ।
मोबिलिटी एक्स्पोमा सबैभन्दा धेरै निसान लिफ इलेक्ट्रीक एसयूभीमा २० लाख रुपैयाँ छुट गरिएको छ । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले स्टक गाडी क्लियरेन्सका लागि लिफमा एकैपटक २० लाख रुपैयाँ छुट घोषणा गरेको बताएको छ ।
यसअघि ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ अब ४४ लाख ९९ हजार रुपैयाँमै आउने कम्पनीले जनाएको छ ।
निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

त्यस्तै, कम्पनीले जीकर एक्समा पनि १५ लाख रुपैयाँ छुट दिएको छ । कम्पनीले सुरूमा ८४ लाख ९९ हजार मूल्य राखेर बिक्री सुरू गरेको जीकर एक्स नाइमामा ६९ लाख ९९ हजार रुपैयाँमै आउने भएको हो । यसअघि पनि एकै पटक १० लाख मूल्य कटौती गरेर ७४ लाख ९९ हजार बनाएको कम्पनीले फेरि ५ लाख रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ ।
जिकर एक्स निकै पावरफुल २०० किलोवाटको इलेक्ट्रीक मोटर र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध मोडल हो । डब्लूएलटीपीले ४४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको जीकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले ११ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । डिसी चार्जर भने १५० किलोवाटसम्म सपोर्ट गर्छ ।
त्यस्तै, लीपमोटर बी १० पनि १० लाख रुपैयाँ छुट दिइएको छ । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले बी(१) क्रसओभर एसयूभीलाई २ भेरियन्टमा नेपाल ल्याएको हो । कम्पनीले यसअघि यसको मूल्य ६० लाख रुपैयाँ तोकेकोमा एक्स्पोमा अफर अन्तर्गत ४९ लाख ९९ रूपैयाँमै उपलब्ध गराउने भएको छ ।
बी १० मा १६० किलोवाटको मोटर जडान गरिएको छ । यसले २४० न्यूटन मिटर टर्क प्रदान गर्छ । कम्पनीले बी–१० एसयूभीमा ५६.२ र ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ ।
त्यसैगरी, म्याक्ससको मिफा ७ एमपीभीमा १० लाख रुपैयाँ नगद छुट दिइएको छ । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेर बुकिङ लिन सुरू गरेको छ। एक्स्पोभरी बुकिङ गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउने कम्पनीले बताएको छ । सो अनुसार ग्राहकले १ करोड १५ लाख रुपैयाँमै मिफा ७ लिनसक्नेछन् ।

१८० किलोवाटको मोटर रहेको मिफा ७ मा ९० किलोवाट आवरको ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ६३५ किलोमिटर रेन्ज दिने डब्लूटीपीले प्रमाणित गरेको छ ।
त्यस्तै, कम्पनीले कम्पनीले केही समय अघि सार्वजनिक गरेको म्याक्सस ई टेरन ९ मा पनि ५ लाख रुपैयाँ छुट दिएको छ । यसको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, हुन्डाईका गाडीहरूमा पनि छुट पाइने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित सबै मोडलका गाडीमा ८ लाख रुपैयाँसम्म छुट दिएको हो । साथै, १ वर्षको निःशुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् । यसका अवला हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी पनि पाउने छन् ।
यस योजनामा बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले बताएको छ । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनोट हुनेछन् ।हाल नेपालमा हुन्डाईका ग्राण्ड आइ १० नियोस्, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइसई र आयोनिक ५ मोडल उपलब्ध छन् ।
त्यस्तै, चीनमा मिनी रेन्ज रोभरको नामले चर्चा कमाएको जेको जे फाइभमा ४ लाख रुपैयाँ छुट दिइएको छ । ओमोडा÷जेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइलले एक्स्पोमा राखेको जेको जे फाइभमा ४ लाख रुपैयाँ छुट दिएर बुकिङ लिन सुरू गरेको जनायो।
कम्पनीले जे-फाइभ एसयूभीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसमा ४ लाख रुपैयाँ नगद छुट दिएर ५६ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने बतायो ।

जेको जे-फाइभ १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील मोटरमा उपलब्ध छ । जेको जे-फाइभमा ५८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिनेछ । यसको ग्राउण्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।
त्यस्तै, फरथिङ फ्राइडे इलेक्ट्रीक एसयूभीमा ८ लाख रुपैयाँ छुट दिइएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटीले यसअघि फरथिङ फ्राइडेको लग्जरी भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकेको थियो । अहिले ६ लाख रुपैयाँ छुट दिई ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो । साथै, ग्राहकले ७।३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क वारेन्टी दिएको छ ।
फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले अधिकतम १७४ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ब्याट्रीले ११ किलोवाटसम्मको एसी र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।
त्यस्तै, नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले मोबिलिटी एक्सपोमा एटो वान बुकिङ गर्ने ग्राहकलाई विशेष अफर दिएको छ । नगद छुट, निःशुल्क १ वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षसम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन, १० वर्षको एक्सटेन्डेड वारेन्टी, उपलब्ध गराएको बताएको छ।
एक्स्पोको पहिलो दिन ब्यवसायीहरु बिभिन्न कम्पनीका नयाँ मोडलका गाडीहरु लन्च गर्नमै ब्यास्त रहेका थिए ।












प्रतिक्रिया