देशभर ९१ प्रतिशत धान रोपाइँ, मधेसमा ७६ प्रतिशत मात्र


काठमाडौँ । हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २५ गतेसम्म १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८८६.८५ हेक्टरमा धान रोपिएको हो ।

गत वर्षको साउन २७ गतेसम्म ९८.१९ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार अहिले देशभर मनसुन सक्रिय भएकाले बाँकी रोपाइँ चाँडै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेश ९९.७२ प्रतिशत रोपाइँ पुरा गरी सबैभन्दा अगाडि रहेको छ । उक्त प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको छ । कर्णाली प्रदेशमा पनि ९८.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ४० हजार ३८३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जहाँ ३ लाख २ हजार ९३९ हेक्टरमध्ये २ लाख ९७ हजार १०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । गण्डकीमा ९२.७७ प्रतिशत अर्थात् ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा ८७ हजार ३७५ हेक्टर इोत्रफलमा धान रोपाइँ भएको हो भने बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ भएको हो । बागमतीमा १ लाख १५ हजार ६२१ हेक्टर क्षेत्रफल मध्ये १ लाख ८ हजार १७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।

कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशीमा २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ६० हजार ९६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । तर, मधेश प्रदेशमा भने रोपाइँको गति ढिलो देखिएको छ । ३ लाख ७२ हजार ६४५ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये हालसम्म ७६.५४ प्रतिशत अर्थात् २ लाख ८५ हजार २३४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

धान उत्पादनमा मुख्य योगदान दिने क्षेत्रहरूमध्ये एक रहेको मधेश प्रदेशमा पानी अभाव र पूर्वाधार समस्या जस्ता कारणले गर्दा रोपाइँ सुस्त गतिमा भइरहेको बताइएको छ । पछिल्लो समय पानी पर्न थालेपछि रोपाइँले गति लिन थालेको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  १२ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।