गलेश्वर आश्रमले आयोजना गर्ने लक्ष चण्डी महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने


काठमाडौँ । गण्डकी प्रदेश सरकारले गलेश्वर आश्रमले पवित्र धार्मिकस्थल देवघाटधाममा आयोजना गर्न लागेको लक्षचण्डी विराट महायज्ञलाई सहयोग गर्ने भएको छ ।

गलेश्वर धामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधवार भएको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहयोग र समर्थनको आश्वासन दिएका हुन् । आश्रमले आगामी माघ १८ देखि फागुन १७ गतेसम्म पवित्र तीर्थस्थल देवघाट धाममा लक्षचण्डी विराट महायज्ञ आयोजना गर्दै छ ।

महायज्ञका लागि सहयोग र समर्थन जुटाउने तथा विशिष्ट व्यक्तित्वहरुलाई निमन्त्रणा गर्ने उद्देश्यले आश्रमको प्रतिनिधिमण्डल पोखरा पुगेको थियो । प्रतिनिधिमण्डलमा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँगै आश्रमका पदाधिकारीहरु सहभागी थिए ।

गलेश्वर आश्रम हिन्दु धर्मको सम्बद्र्धन र पवित्र देवघाट धामको ऐतिहासिक, धार्मिक महत्वलाई व्यवस्थित गर्ने संकल्प लिएर स्थापना भएको आश्रम हो । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।