इन्फिनिक्स अब होरा ईस्पोर्ट्सको आधिकारिक स्मार्टफोन साझेदार


काठमाडौँ । नेपालमा तीव्र गतिमा लोकप्रिय भईरहेको स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालकै चर्चित ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्ससँग ऐतिहासिक साझेदारी गरेको छ।

यस सम्झौतापछि, इन्फिनिक्स आधिकारिक रूपमा होरा ईस्पोर्ट्सको अफिसियल ईस्पोर्ट्स स्मार्टफोन पार्टनर बनेको छ।
सञ्जन गौतम ‘सीआर ७ होरा’ को नेतृत्वमा रहेको टोली अबदेखि इन्फिनिक्स होरा ईस्पोर्ट्सका नाममा परिचित हुनेछ। टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टहरूमा इन्फिनिक्सको लोगो समावेश हुनेछ भने, सीआर ७ होरा स्वयं नेपालमा इन्फिनिक्सको गेमिङ फेसको रूपमा रहनेछन्। उनले युट्युब, टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत ब्रान्डको उपस्थिति अझ सशक्त बनाउनेछन्।

यस साझेदारीपछि फ्यानहरूले विभिन्न अवसरहरू प्राप्त गर्नेछन्, जसअन्तर्गत इन्फिनिक्स र सीआर ७ होराको सहकार्यमा नेपालकै पहिलो प्रतिस्पर्धात्मक खेल–केन्द्रित विज्ञापन चलचित्र निर्माण गरिनेछ, हरेक महिना विशेष ब्रान्डेड सामग्री जस्तै भिडियो, गेमिङ हाइलाइटहरू र रमाइला रिल्सहरू सार्वजनिक गरिनेछन् । कलेज स्तरका ईस्पोर्ट्स प्रतियोगिता, ‘होरा क्याफे’ (नयाँ नाम ‘इन्फिनिक्स ईस्पोर्ट्स जोन’) मा फ्यान मिटअप तथा उपहारसहितका अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिनेछन् ।
साथै खेलाडीहरूलाई इन्फिनिक्स जीटी ३० प्रो स्मार्टफोन, जर्सी र फ्यान कार्यक्रमहरूमा आवश्यक सबै प्रकारका सहयोग प्रदान गरिनेछ।

सञ्जन गौतमले भने, ‘यो केवल जर्सीमा लोगो राख्ने कुरा होइन, यो नेपालमा ईस्पोर्ट्स संस्कृति निर्माण गर्ने र खेलाडीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने बाटो देखाउने प्रयास हो। इन्फिनिक्स हाम्रो यात्राको अभिन्न हिस्सा बनेको छ।’

इन्फिनिक्सका एनएसएम पियुष गिरीले होरा ईस्पोर्ट्ससँगको यो साझेदारीमार्फत हामी नेपालकै ईस्पोर्ट्स भविष्यमा लगानी गरिरहेको बताए ।
यो सहकार्यले एकातर्फ इन्फिनिक्सलाई गेमरहरूबीच अझै भरपर्दो ब्रान्ड बनाउनेछ भने अर्कातर्फ होरा ईस्पोर्ट्सलाई नेपालको ईस्पोर्ट्स क्षेत्रमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।