नेपाल लाइफद्वारा राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर सङ्कलन


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलन सम्बन्धि प्रतिवेदन यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरु, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरु, फोहोर व्यवस्थापन, रिसाइकलिङ, र वातावरणीय संरक्षणमा योगदान पु¥याउँदै आएको संस्था खालिसीसीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पहिलो चरणमा ५ हजार किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा यससँग आबद्ध सबै सरोकारवालाहरुलाई अन्तहृदयदेखि धन्यवाद ज्ञापन गरे र आगामी दिनमा पनि वातावरणको रक्षाका निम्ति र नेपालको धरोहर र पहिचानको रूपमा स्थापित सगरमाथाको सौन्दर्यतालाई कायम राख्न नेपाल लाइफ सदैव तयार रहेको प्रतिबद्धता जाहेर गरे । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताए । साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।