काठमाडौँ । एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम (इएलआइएस) मा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एनआईसी एशिया इक्वीटी लिंकड इन्भेष्टमेण्ट स्किमको इकाई निष्काशन भएको थियो ।
पहिलो चरणमा बीज पूँजी सहित १० रुपैयाँ अंकित दरका पाँच करोड इकाई साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त समयमा बीज पूँजी सहित जम्मा ८२ हजार ८२८ जना आवेदकहरुबाट जम्मा ७४ करोड ३ लाख १६ हजार बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी रहेको छ ।
एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम एनआईसी एशिया क्यापिटलबाट संचालित दोश्रो खुलामुखी योजना हो । उक्त योजनाको पहिलो चरणमा १० रुपैयाँ अंकित दरका ५ करोड इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको आकार बीज पूँजी सहित १ अर्ब बराबरको १० करोड रुपैयाँ इकाई बिक्री गर्नका लागि स्वीकृत प्राप्त भएको तथा उक्त योजनाको स्वीकृत विवरण पत्रमा समेत अधिकतम सकारिने इकाई बीज पूँजी सहित १० करोड इकाई अर्थात १ अर्व रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था छ । एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि सार्वजनिक निष्काशनको समयमा रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किममा लगानी गर्ने सम्पूर्ण लगानीकर्ता, निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा नियमनकारी निकाय लगायत सम्बन्धित सबैमा विशेष धन्यवाद ज्ञापन गरेको छ ।










प्रतिक्रिया