असोजदेखि नेपाल आउने विदेशी पर्यटक अध्यागमनको ट्रयाकिङमा


काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकको ट्र्याकिङ सुरु गरेको छ । अध्यागमन विभागले सुरक्षा, सूचना आदानप्रदान, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले ट्रयाकिङ प्रणाली विकास गरेको हो ।

ट्रयाकिङ प्रणाली पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटेलहरूमा अनिवार्य लागु गरिने विभागले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्सचेन्जरहरूमा, त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट सेवा प्रवाहमा लागु गरिनेछ।

अध्यागमन विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आवद्ध हुन अनुरोध गरेको छ ।

प्रणाली कार्यान्वयनबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास, गतिविधि र प्रस्थानको व्यवस्थित अभिलेख राख्न सकिनेछ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास अध्यागमनको छ ।

यस्तै वि सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला अन्य निकायबीच सूचना आदानप्रदान प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित तथा व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘अन्तराष्ट्रिय दायित्व र प्रतिबद्धताहरूप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको विकास गरेको छ,’ विभागको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  ०६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।