काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले हालै विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू भ्रामक र निराधार भएको भन्दै आपत्ति जनाएको छ। संस्थाले प्रचलित कानुन, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार मात्र आफ्नो गतिविधि अघि बढाउने स्पष्ट गरेको छ।
नाडाको केन्द्रीय कार्यसमितिले २०८२ भदौ ३ र ८ गतेका बैठकमा संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिन विशेष साधारण सभा बोलाउने निर्णय गरिसकेको थियो। यस प्रक्रियामा सदस्यहरूको मताधिकार सुरक्षित रहेको भन्दै सो निर्णय अवैधानिक वा अनियमित भन्ने दाबीहरू असत्य भएको नाडाले जनाएको छ।
प्राप्त उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रारम्भमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको भए पनि पछि दुवै पक्षसँग छलफल गरी आवश्यक कागजात र स्पष्टीकरण लिएर स्थगन आदेश फुकुवा गरेको नाडाले जनाएको छ। जिल्ला प्रशासन कार्यालयको २०८२ भदौ १८ गतेको पत्रमा संस्थाले विधानअनुसार वार्षिक वा विशेष साधारण सभा गर्न सक्ने अधिकार पुष्टि भएको उल्लेख छ।
नाडाले पदाधिकारी हेरफेर, कार्यकाल लम्ब्याउने वा व्यक्तिगत स्वार्थमा निर्णय गर्ने आरोपहरू निराधार रहेको भन्दै संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र निर्वाचन प्रक्रियाबाटै तय हुने स्पष्ट गरेको छ।
नाडाका अध्यक्ष करणकुमार चौधरीले आफू पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ नराखेको बताउँदै सरोकारवालाले सहमति जनाए तत्काल निर्वाचन सहितको साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
नाडाले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न आग्रह गर्दै विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रूपमा सम्पन्न हुने जनाएको छ।












प्रतिक्रिया