बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि बन्दीपुर इन काठमाडौँ सम्पन्न


काठमाडौँ । तनहुँको ऐतिहासिक एवं सांस्कृतिक गन्तव्य ‘पहाडकी रानी’ बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन “बन्दीपुर इन काठमाडौं” कार्यक्रम सम्पन्न गरिएको छ। बन्दीपुर भ्रमण वर्ष–२०२५ अन्तर्गत आयोजित विशेष कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरे।

क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाइको आयोजना, बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसायी, विज्ञ, स्थानीय प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बन्दीपुरलाई नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको अनुपम धरोहरको रुपमा व्याख्या गरे। परम्परागत बस्ती र ऐतिहासिक स्वरुप जोगाउन सके मात्र बन्दीपुरको वास्तविक आकर्षण कायम रहने भन्दै उनले यसलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सके राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरको पर्यटकीय सम्भावना र भविष्यका रणनीतिहरू समेटिएको कार्यपत्र प्रस्तुत गरे। उनले दिगो पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए

सो अवसरमा बन्दीपुरको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो। पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठलाई ८बन्दीपुर टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, वरिष्ठ चिकित्सक डा.मदनकुमार पियालाई बन्दीपुर हेल्थ लाइफटाइम अचिभमेन्ट अवार्ड र समाजसेवी तथा शिक्षाविद् चिजकुमार श्रेष्ठलाई बन्दीपुर एजुकेशन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सडक, खानेपानी, सरसफाइ लगायत पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बन्दीपुरलाई पर्यटकमैत्री गन्तव्य बनाउन स्थानीय सरकार निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाइकी अध्यक्ष फूलमती थापाले बन्दीपुर भ्रमण वर्ष–२०२५ अन्तर्गत देश–विदेशका पर्यटकलाई स्वागत गर्न होटल व्यवसायी, स्थानीयवासी र सरोकारवाला निकाय जुटेको बताए

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले बन्दीपुरलाई अत्यन्त सम्भावनायुक्त पर्यटन क्षेत्रको रुपमा प्रस्तुत गर्दै यसको प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने आश्वासन दिए।

समुद्र सतहदेखि करिब १,०३० मिटर उचाइमा अवस्थित बन्दीपुर परम्परागत नेवार बस्ती, ऐतिहासिक घर, साँघुरा गल्ली, हिमाल–पहाडको दृश्य, गुफा र पदयात्रा मार्गका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो रहेको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।