मस्टोन होटेल्सद्वारा सिटिजन्स क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त


काठमाडौँ । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिसोर्टको प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको जिम्मेवारी लिनेछ। कार्यक्रममा प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिति रहेको थियो।

सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिसोर्ट काभ्रेपलाञ्चोकको पात्लेखेत, धुलिखेलमा अवस्थित छ। हिमालय र उपत्यकाको मनोरम दृश्यसँगै अन्तर्राष्ट्रिय ब्रान्डको संरचना र आधुनिक प्रविधिमा निर्मित यो रिसोर्ट नेपाल पर्यटन क्षेत्रको विकासमा कोशेढुंगा सावित भएको बताइएको छ।

दुसित थानी आतिथ्य शृङ्खलाले हाल नेपालसहित १८ देशमा सेवा प्रदान गरिरहेको छ। राजधानी काठमाडौँबाट करिब ३८ किलोमिटर दूरीमा रहेको रिसोर्टले शान्त र रमणीय वातावरणमा सम्मेलन, सेमिनार तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त स्थलका रूपमा ख्याति कमाएको छ।

यसैगरी, सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमार्फत नयाँ आयाम थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ। नेपाल धितोपत्र बोर्डबाट प्रत्यक्ष लगानीकर्ता सरोकारका काम गर्न अनुमति प्राप्त यस संस्थामा सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।