काठमाडौँ । युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघ गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निशाना बनाइएबाट उद्यमी व्यवसायी अभूतपूर्व रुपमा भयभीत भएका छन् । यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघको ठहर छ ।
अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीहरुमा हार्दिक अपिल गरेको छ । यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गरेको छ ।
नहुनुपर्ने भइसकेर मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नवनेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प छैन । अहिलेको तरल अवस्था चाँडै नै अन्त्य भई युवा पुस्ताको चाहनाबमोजिमको समृद्धि यात्रामा देश अगाडि बढ्ने हाम्रो अपेक्षा छ ।
सुशासन र समृद्धिको दिशामा सरकोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ । देशका लागि अझ बढी वित्तीय स्रोत र अझ बढी रोजगारी आवश्यक परेको यो अवस्थामा नियमित रुपमा उद्यम व्यवसाय चल्ने वातावरणको निम्ति अपरिहार्य शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन संघ सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।












प्रतिक्रिया