समस्यामा अटो व्यवसायी

जेनजी आन्दोलनका कारण मुख्य सिजनमै धराशायी बन्यो अटो व्यापार


काठमाडौँ । दुई साताको अन्तरालमा दुई अटो शो गरेर व्यवसाय फस्टाउने आशामा बसेका अटो व्यवसायी निराश बनेका छन् ।

दुई अटो शोमा भएका बुकिङलाई बिक्रीमा परिणत गर्ने गरी काम गरिरहेका व्यवसायी जेनजी प्रदर्शनका कारण एकाएक निराशामा धकेलिएका छन्‌ ।

विशेषत: साउन र भदौमा भएको अटो शोले दसैँ तिहारसम्मको चाडपर्वको अवधिलाई सवारीसाधन खरिदबिक्रीको मुख्य समय मानिन्छ । तर, यसरी मुख्य व्यापारिक समयमा नै कयौँ अटो ब्रान्डका शोरुमहरु ध्वस्त भएका छन् भने कतिको आंशिक क्षति भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रर्दशनका कारण मानिसले गाडी खरिदबिक्री गर्ने वातावरण समेत बिग्रिएको छ । विशेषत सवारी साधनहरुमा बढी क्षति भएका कारण अब केही समय मानिसले गाडी खरिदमा त्यति धेरै ध्यान नलगाउने अवस्था बनेको छ ।

प्रदर्शनका क्रममा निजी तथा सरकारी गरी धेरै सवारीसाधनहरुमा तोडफोड र आगजनी भएको छ । यस वर्ष करिब दुई साताको अन्तरालमा नाइमा नेपाल मोबिलिटी एक्स्पो (साउन २१ देखि २६ गतेसम्म) र नाडा अटो शो (भदौ ३ गतेदेखि ८ सम्म)  भएका थिए ।

चाडपर्व भन्दा केही समय अगाडि भएका दुई अटो प्रदर्शनीले व्यवसायीमा नयाँ उत्साह र आत्मविश्वास थप्ने काम गरेको थियो । प्रदर्शनीले मोटरसाइकल, स्कुटर र दुई पाङ्ग्रे बजारमा मानिसको राम्रो चासो रहेको पुष्टि गरेको थियो ।

दुबै प्रदर्शनीमा ब्रान्डहरूबीच नयाँ मोडेल सार्वजनिक गर्ने होड मात्र चलेनको थिएन, उपभोक्तालाई सहज कर्जादेखि अफर प्याकेजमार्फत तान्ने प्रयास समेत भएको थियो ।

अटो व्यवसायी एवं नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का निवर्तमान अध्यक्ष ध्रुव थापाले प्रदर्शनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनका अनुसार, थापाथलीमा सिजी मोटर्सले मात्रै बिक्री गर्ने करिब आधा दर्जन शोरुम तथा निजी निवासमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो भने उनको घरमा रहेको निजी सवारी साधनमध्ये त्यहाँबाट निकालेर चोकमा लगेर जलाइएको थियो ।

पोखराको नयाँबजारमा आन्दोलनकारीले जलाएको अटो शोरूमको भवनभित्र त झन् जलेको अवस्थामा एक युवतीको शव नै भेटिएको थियो । अझै, कहाँ कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी नै थापाको भनाइ छ ।

जसका कारण अटो व्यवसायीहरुलाई ठूलो क्षति पुगेको छ । मानिसहरुको सवारीसाधन खरिदमा चासो नदिने भएका छन् । हालको समयमा भएको क्षति त भइहाल्यो अब केही समय व्यवसाय नै अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

चाडपर्व बाहेक अन्य समयमा शोरुम भाडा र कर्मचारी धान्ने खर्च उठाउन धौधौ पर्ने अटो व्यवसायीले अधिकतम आम्दानी यहि मौसममा गर्दथे ।

तर, व्यापार बढी हुने मुख्य समयमा नै कठिन परिस्थिति सिर्जना भएपछि बजार थलिने अवस्थामा पुगेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा अटो व्यवसायी निराकार श्रेष्ठ व्यापारको मुख्य समयमा नै प्रदर्शनले व्यवसायमा ठूलो असर गरेको बताउँछन् ।

‘अटो शोदेखि गाडी खरिदबिक्रीको माहोल बन्दै गएको थियो । तर जेनजी प्रदर्शनीले गर्दा यस्तो अवस्थामा बजार खुलेपनि तत्कालै मानिस गाडी खरिद गर्ने अवस्थामा पुग्दैनन् र व्यापार पनि राम्रो ढंगमा नहुने स्थिति छ,’ श्रेष्ठको भनाई छ ।

छोटो अन्तरालमै भएका दुई शोले अटो क्षेत्रमा लगानीको वातावरण सकारात्मक बनाएको र बजार स्थिरतर्फ उन्मुख हुने संकेत गरेको थियो । तर, जेनजी प्रदर्शनले बिथोलेको श्रेष्ठको तर्क छ ।

अटो क्षेत्रमा के–कति क्षति पुग्यो भन्ने समग्र तथ्यांक संकलन भइसकेको छैन । यसको तयारीमा हामी लागिरहेको छौँ, नाडाका आमन्त्रित सदस्य अनुपकुमार बरालले भने । ‘अबको केही समयमा यसको तथ्यांक आउनेछ,’ उनले बताए ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।