काठमाडौँ । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गरी पुननिर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी संरचनाहरू पुनर्निर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौँ, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला सबै निकाय जिम्मेवार भएर लाग्न आवश्यक छ ।’ निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रिया लगायात अन्य सहजीकरण गर्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले जोड दिए ।
मल्लले आन्दोलनबाट प्रभावित उद्यमी तथा व्यवसायीहरूका लागि राहतका कार्यक्रमहरू तत्काल ल्याउन आवश्यक रहेको उल्लेख गरे ।
उनले मुलुकमा रोजगारीको वातावरण सिर्जना गरी युवाहरूको अपेक्षा पूरा गर्नुपर्नेमा विशेष जोड दिए । युवालाई पार्टटाइम रोजगारी उपलब्ध गराउन सकेमा तत्कालीन समस्याको केही हदसम्म समाधान हुने उनको भनाइ थियो ।
त्यस्तै, मुलुकभित्र विद्यमान प्राकृतिक श्रोत र साधनको पहिचान गरी उत्पादन र उपभोगमा जोड दिँदै निर्यात बढाउन सक्ने खालका नीतिगत कदम चाल्नुपर्ने सुझाव पनि अध्यक्ष मल्लले अर्थमन्त्रीसमक्ष प्रस्तुत गरे ।
मल्लले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक स्थिरता र दीर्घकालीन समृद्धितर्फ अघि बढाउन सधैं तत्पर रहेको बताए ।












प्रतिक्रिया