काठमाडौँ । रोजगारीको सिलसिलामा काठमाडौँ बस्दै आएकी सरिता यति बेला घर कसरी जाने भन्ने चिन्तामा छिन् । बसमा यात्रा गर्दा बाढी पहिरोको जोखिमले डराएकी उनलाई प्लेनको टिकट नै नपाउने हो कि भन्ने चिन्ताले सताएको छ ।
बैतडीसम्म पुग्न धनगढीको टिकट काट्नुपर्ने बताउँदै उनले भनिन्, ‘गाडीमा जान काठमाडौँबाट ३० घण्टा लाग्छ । त्यसैले प्लेनबाट जान लागेको । प्लेनमा पनि ७५ प्रतिशत बुकिङ भइसकेछ ।’
भदौको तलब आएपछि टिकट बुकिङ गर्ने प्रतीक्षामा रहेकी उनलाई गत वर्षको जस्तै टिकट नै नपाउने हो कि भन्ने डर छ ।
गत वर्ष पनि पहिला नै बुकिङ नगर्दा टिकट नपाएर सास्ती खेप्नु परेको उनले बताइन् । दुर्गमका विमानस्थलमा उडान गर्ने जहाज कम हुँदा हवाई टिकट पाउन मुस्किल हुने गरेको छ ।
उनीमात्र होइन कैलाली घर भएका कृष्णलाई पनि अहिले घर जाने चिन्ताले सताएको छ । सडक निर्माणमा सरकारले जति बजेट निकासा गरेतापनि सडकको अवस्था देखेर उनी महंगो भाडा नतिरेरै भएपनि प्लेनमा जान बाध्य भएका छन् । तर, हवाइ टिकटको भाडा बढ्दै गएकोले कसरी भाडा जोहा गर्ने भन्ने चिन्ताउनमा छाएको छ ।
विशेष गरी दसैंलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ गर्ने यात्रुको चाप बढेसँगै अहिले बुकिङ ७५ प्रतिशतसम्म भएको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।
बुद्ध एयरलायन्सका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार दसैंलाई लक्षित गरेर काठमाडौँबाट सञ्चालन हुने केही गन्तव्यमा ८० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको छ ।
‘कतिपय रुटमा ७० प्रतिशतको हाराहारीमा टिकट बुक भइसकेको छ,’कर्णले भने,‘त्यसैले यात्रुले ढिला नगरी चाँडै टिकट लिनुपर्ने अवस्था आएको छ।’
उनका अनुसार काठमाडौँ–तुम्लिनटार गन्तव्यको टिकट हालसम्म पूर्णरूपमा बुक भइसकेको छ। माग अत्यधिक भएपछि बुकिङ समय अगावै सकिएको हो। अन्य गन्तव्यहरूमा पनि छिट्टै टिकट सकिन सक्ने देखिएको छ।
यसबीच, हवाइ टिकटको मूल्य भने अघिल्ला वर्षको तुलनामा घटेको देखिएको छ। बुद्ध एयरमा असोज २ गते काठमाडौँ–धनगढीको टिकट १६ हजार रुपैयाँ छ भने असोज १२ गते सोही टिकट १२ हजार र असोज १४ गते १० हजार रुपैयाँ तोकिएको छ । टिकट बुकिङ बढाउन बुद्ध एयरले भाडामा सहुलियत दिएको हो ।
बुद्ध एयरले कम्पनीले भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगञ्ज, पोखरा, राजविराज, सिमरा, सुर्खेत र तुम्लिनटार लगायतका गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ।
यति एयरलाइन्सको काठमाडौँ–नेपालगञ्ज उडानको भाडा असोज १४ गतेसम्म १३ हजार ९५ रुपैयाँकायम गरिएको छ।
यति एयरलाइन्सले भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, सिमरा पोखरा र नेपालगञ्जमा उडान गर्दै आएको छ ।
उता, श्री एयरलाइन्सले भने भाडा बढाएको छ । श्री एयरको ‘ई-क्लास’ टिकट असोज २ गते (भोलि) काठमाडौँबाट नेपालगञ्जको भाडा ८ हजार ४ सय रुपैयाँमाउपलब्ध छ भने असोज १३ गतेको भाडा ९ हजार रुपैयाँ रहेको छ ।
श्री एयरलाइन्सले भैरहवा, विराटनगर, पोखरा, भद्रपुर, भरतपुर, सुर्खेत, धनगढी र नेपालगञ्जमा नियमित उडान गर्दै आएको छ।
हवाई टिकटको मूल्य वायुसेवाको लागत, वायुसेवा सञ्चालन, इन्धनको मूल्य, इन्जिन वेलको मूल्य, प्रशासनिक खर्च लगायतका आधारमा हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हवाई भाडा प्राधिकरणबाट स्वीकृत गरेको भाडा दरलाई सस्तोदेखि महँगोसम्म तय गरेर राख्नसक्ने जनाएको छ ।












प्रतिक्रिया