महान् मनका धनी मीनबहादुर गुरुङलाई सलाम !


काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भाटभटेनी सुपरमार्केटका विभिन्न स्टोरमा आगजनी, तोडफोड र लुटपाट भयो। कसैले डल त कसैले रक्सीका बोतलसम्म चोरी गरेको दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भयो। आन्दोलनका नाममा भाटभटेनी बारम्बार मुख्य निशाना बन्दै आएको छ । जेनजी आन्दोलनमा २८ शाखामध्ये १२ वटा सुपरमार्केट खरानीमा परिणत भए । अर्बौंको क्षति भयो, तर यसले भौतिक संरचना मात्र नष्ट गर्‍यो, संस्थापक मीनबहादुर गुरुङको उद्यमशीलताको आत्मा र संकल्प भने अझ दृढ बनेर अघि बढ्यो।

कम्पनीले हार मानेन । कर्मठ उद्यमी मिनबहादुरले आगजनी र तोडफोड भएको केही दिनमै १६ वटा शाखा फेरि सञ्चालनमा ल्याइए। टोखा, सातदोबाटो, अनामनगर, त्रिपुरेश्वर, पाटन, कलंकी, सानागाउँ, राधेराधे, बालाजु लगायत उपत्यकाभित्रका शाखासँगै नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका शाखा पनि उपभोक्ताको सेवामा खुले। यसरी विषम परिस्थितिमा पनि भाटभटेनीले सेवा निरन्तरता दिन सक्यो।

भाटभटेनीमा कार्यरत करिब १० हजार कर्मचारीमध्ये कोही पनि रोजगारी गुमाउनु परेन । दशैं नजिकिँदै गर्दा जागिर गुम्ने भयमा रहेका कर्मचारीलाई गुरुङले खुलेर घोषणा गरे, ‘कसैको पनि तलब काटिँदैन, जागिर जाने छैन, दशैं भत्तासमेत दिइनेछ।’ विषम परिस्थितिमा यस्तो घोषणा सामान्य कुरा होइन। कठिन घडीमा आफ्ना कर्मचारीलाई परिवारसरह ठान्ने र उनीहरूको मनोबल उच्च राख्ने गुरुङको निर्णयले उनको उदार मनको प्रमाण दिएको छ। यही कारण कर्मचारीहरूले उनलाई ‘भगवानसरह’ ठानेका छन्।

सन् १९८४ (२०४१ साल) मा ३५ हजार रुपैयाँ पुँजीसहित सुरु भएको किराना पसल आज भाटभटेनीको रूपमा ३० अर्ब रुपैयाँभन्दा बढी वार्षिक कारोबार गर्ने खुद्रा व्यापार चेनमा परिणत भएको छ। अहिले २८ शाखामार्फत दैनिक लाखौं उपभोक्ताले सुविधा पाइरहेकोमा आन्दोलनपछिको क्षतिले यो संख्या घटाइदिएको छ । तर पनि करिब १० हजार मानिस प्रत्यक्ष रोजगारीमा आबद्ध भाटभटेनीमा मिनबहादुरले कर्मचारी कटौती नगरी सञ्चालनमा रहेका स्टोरमा नै क्षतिग्रस्त भाटभटेनीका कर्मचारी खटाएका छन् ।

स्थानीय किसानका तरकारी, फलफूल, दूध–दहीदेखि घरेलु उद्योगीले उत्पादन गरेका परिकार—अनर्सा, सेलरोटी, घिउ, अचारसमेत भाटभटेनीमा सजिलै पाइने भएकाले यो लोकप्रिय छ ।

यसैगरी, गुरुङ दम्पतीले सामाजिक उत्तरदायित्वमा पनि निरन्तर योगदान दिएका छन्। त्रिवि शिक्षण अस्पताललाई दुई पटक गरी २० करोडभन्दा बढी मूल्यको भवन र आकस्मिक कक्ष निर्माण सहयोग गरेका छन्। बाल अस्पताल निर्माणका लागि ४१ करोड बराबरको सहयोग, बाढी पीडितका लागि करोडौँ सहयोग गरेका छन्। यी योगदानहरूले भाटभटेनीलाई नाफाभन्दा माथि उठेर समाजप्रति उत्तरदायी संस्थाको रूपमा स्थापित गरेका छन्।

यस्तो कठिन परिस्थितिमा पनि कर्मचारीलाई सुरक्षित राख्ने, तलब बोनस सुनिश्चित गर्ने, नयाँ उद्योगमा लगानी गर्ने भाटभटेनी समूहले सन्देश दिएको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। हाम्रो पसल ध्वस्त भए पनि तपाईंहरूको साथले हामी अझ सबल भएर अघि बढ्नेछौं।’

मीनबहादुर गुरुङले सिद्ध गरेका छन्, सच्चा उद्यमी भनेको केवल नाफा कमाउने होइन, समाजलाई योगदान दिने, कर्मचारीलाई परिवारसरह माया गर्ने र कठिनाइमा पनि राष्ट्रलाई अघि बढाउने हो। यस्तो उदार मन, त्याग र समर्पण देखाउने उद्यमीलाई सलाम नगरी बस्न सकिँदैन। सरकारले पनि गुरुङजस्ता कर्मठ उद्यमी व्यवसायीलाई नीति बनाउनुपर्छ ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १० : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।