काठमाडौँ । चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन ।
नेपालीका दशैं–तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी ६७ हजार ९७२ नेपालीहरू विदेशिएका छन् । यो चालु आर्थिक वर्ष ०८२/०८३ को भदौ महिनामा मात्र विदेश जाने नेपालीहरुको संख्या हो ।
वैदेशिक रोजगार विभागका अनुसार विदेशिनेमध्ये ५९ हजार ९२३ पुरुष र ८ हजार ४९ महिला रहेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा ५७ हजार४९३ जना नेपाली श्रमका लागि विदेशिएका थिए ।
भदौमा ३३ हजार १ जना संस्थात रुपमा र ११ हजार ७७५ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । त्यस्तै जिटुजीमार्फत ९०१ जना विदेश गएका छन् ।
सबैभन्दा धेरै यूएई गए
वैदेशिक रोजगार विभागका सूचना अनुसार भदौमा सबैभन्दा धेरै यूएई गएका छन् । पछिल्लो एक महिनामा युएइमा मात्र २५ हजार २१८ नेपाली विदेश गएका छन् ।
त्यस्तै कतारमा १० हजार ३६९, साउदीमा १० हजार २०१, मलेसियामा ५ हजार १२८ र कुवेतमा ३ हजार ६९६ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।
पछिल्लो समय नेपालीहरुको प्रमुख गन्तव्य यूएई बनेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकाराम ढकाल बताउँछन् ।
बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकहरूका लागि युएई पहिलो रोजाइ बनेको छ । युएई एक समृद्ध संस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक हो । त्यसैले सबैभन्दा धेरै नेपाली युएई जाने गरेका हुन् ।
नेपालीले चाहेअनुसारको काम युएईमा पाइनु र त्यहाँका कम्पनीहरू श्रमिकका लागि उचित हुनुले पनि युएई रोजाइको केन्द्र बन्न पुगेको छ ।
युएईमा नेपालीहरूले पनि धेरै मात्रामा कम्पनीहरू सञ्चालनमा ल्याएका कारण काम पाउन र गर्न सजिलो हुन्छ । यसका साथै भाषिक सहजता पनि हुने भएकाले पनि नेपाली श्रमिकहरू युएईतर्फ आकर्षित भएका ढकालको भनाई छ ।
भदौमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयामा सबैभन्दा धेरै श्रमिक गएका छन् ।
भदौमा रोमनियामा २ हजार ५२२ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ८२६, साइप्रस ६८९, माल्टामा ४१७ जना गएको विभागको तथ्याङमा उल्लेख गरिएको छ ।
कुन जिल्लाबाट कति गए ?
भदौमा सबैभन्दा धेरै झापाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा झापाबाट ३ हजार ६३, धनकुटाबाट ३ हजार ३०३, मोरङबाट २ हजार ७९३, महोत्तरीबाट २ हजार ५०६, सुनसरीबाट २ हजार ३०५ र रुपन्देहीबाट २ हजार ३०१ जना वैदेशिक रोजगारीमा गएका छन् ।
नेपालबाट भदौमा विदेशिने श्रमिक मध्ये १९ हजार १३५ जना अदक्ष श्रमिक छन् । विभागका अनुसार भदौमा विदेशिनेमध्ये ३७ हजार ७० जना श्रमिक दक्ष छन् । अर्धदक्ष ११ हजार ४१८ जना विदेशिएका छन् । त्यस्तै व्यवसायिक दक्ष शिप भएका २३६ जना गएका छन् भने ११३ जना उच्च दक्ष श्रमिकहरू विदेशिएका छन् ।
अब ई–७ भिसामा कोरिया जान नपाइने, युएइमा पनि लगाइयो नेपालीलाई प्रतिबन्ध












प्रतिक्रिया