वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात


वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।

गत आवको दुई महिनाको तुलनामा चालु आवको २ महिनामा उक्त नाका हुँदै १ अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै १ अर्ब २९ करोड रुपैयाँ बढी राजस्व समेत सङ्कलन भएको छ ।

“यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको २ महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको २ महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

चालु आवको २ महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८ सय २४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए।

चालु आवको २ महिनामा ६ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले ४ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोडको ६९ हजार ६ सय ४७ किलोलिटर पेट्रोल आयात हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ राजस्व सङकलन भएको थियो । त्यस्तै चालु आवको २ महिनामा ५ अर्ब १२ करोड रुपैयाँको ४ करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा भने ५ अर्ब ३६ करोड रुपैयाँको ४ करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्याँस आयात हुँदा १ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  ०६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।