काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । कूल १ हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा २ हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ ।
ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ ।
सम्पत्ति बिमाको ५ सय ३८, मोटर बिमा १ हजार ७ सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका १ सय ३२, परिवहन बिमा ११ र अन्यमा १९ वटा आवेदन प्राप्त भएका छन् । प्रदेशगत आधारमा कोशी ३ सय २२, मधेश २ सय ४६, बागमती १ हजार ३४३, गण्डकी १ सय ८४, लुम्बिनी २ सय २ कर्णाली २२ र सुदूरपश्चिम प्रदेश १ सय ५९ वटा बिमा दाबी परेका प्राधिकरणले जनाएको छ ।












प्रतिक्रिया