वीरगञ्ज नाकाबाट मात्रै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए


वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा ५ अर्ब २५ करोड रुपैयाँका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । “गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ ।”

गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु आवको दुई महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख रुपैयाँ मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख रुपैयाँ मूल्यका दुई सय ९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।

चालु आवको दुई महिनामा २ अर्ब ७९ करोड रुपैयाँका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा १ अर्ब ८५ करोड रुपैयाँ मूल्यका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । चालु आवको २ महिनामा ६६ करोड ४३ लाख रुपैयाँ मूल्यका तीन सय १८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।