सामाजिक सञ्जालमा व्यस्त हुँदा हराउँदै पिङ खेल्ने चलन !


धादिङ। पिङ हालेको देखेपछि दसैं आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । 

विशेष गरी दसैंको बेलामा पिङको छुट्टै महत्व छ । विगत केही वर्ष पहिला धादिङको सदरमुकाममा पनि धेरै स्थानमा पिङ हाल्ने प्रचलन थियो । दसैं मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ । अहिले बल्लतल्ल एकदुई स्थानमा मात्र पिङ देखिन्छ । सहरमात्र नभई गाउँघरमा पनि आजभोली कमै मात्र पिङ देख्न सकिन्छ । 

पहिला पहिला दसैं आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोली त्यस्तो प्रचलन हराउँदै आएको नेत्रावती गाउँपालिका–१ का राजु थापा मगरले बताए । ‘दसैंमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो,’ उनले भने, ‘आजभोली त सहर बजारका साथसाथै गाउँमा पनि पिङ देख्न छाडियो ।’

त्रिपुरासुन्दरी गाउँपालिकाको ६२ वर्षीय रामहरि कार्की पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छन् । जब–जब दसैं तिहार जस्ता पर्व आउँछन् तबतब उनलाई पुराना दिनका सम्झनाले सताउँछ । पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उनका मानसपटलमा अझै ताजै छन् । उनी भन्छन्, ‘दसैं आयो भने मान्छे सबैभन्दा पहिले पिङ खेल्ने सम्झिन्छन्, उहीले पिङ बनाउने र खेल्ने चलन निकै थियो, अहिले सबै संस्कृति हटे कसले संरक्षण गर्ने ? युवा पुस्ताले चासो दिएनन् ।’

सोही गाउँका ७० वर्षीय भरत सापकोटाले विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि पिङप्रति बेवास्ता बढेको बताउँछन् । वर्षमा एक चोटी धर्ती छाड्नु पर्छ भन्ने जनविश्वास रहे पनि विस्तारै टुट्दै गएको छ । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिंगे पिङप्रति चासो हराउन थालेको छ ।

‘बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, कहाँ पिङ खेल्नु,’ सापकोटाले भने, ‘जमाना फेरिए, मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिंगे पिङ त देख्न पनि छोडियो ।’ ‘सबै आधुनिक भए । बालबच्चादेखि युवापुस्ता सबै मोबाइल तथा सामाजिक सञ्जालमा व्यस्त भए, पुराना परम्परा सबै हराए, उनले थपे । 

उनले दसैं आउनुभन्दा एक हप्ता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँस काटेर ल्याउने, गाड्ने र बाबियो काटेर डोरी बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा संकटमा परेको बताए । उनले भने, ‘हाम्ले पिङ हालेको ठाउँ अहिले मोटरबाटो पुगेर भत्किएको छ । मोटर आएर विकास त भएको छ तर आफ्‌नो परम्परा नै मासिए ।’

पहिला–पहिला दसैं आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोली त्यस्तो क्रम घट्दै गएको नेत्रावती गाउँपालिका–१ का वडा अध्यक्ष ठाकुर गुरुङले सुनाए । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोली निकै कम मात्रै पिङ देखिने गुरुङको भनाइ छ । ‘पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपर्थ्यो, आजभोली विस्तारै घट्दै छ’, उनले भने । उनले संस्कृति जोगाउनका लागि आफूहरु यो वर्ष पिङ हाल्ने तयारीमा रहेको बताए ।

‘हामीले आफ्‌नो परम्परा र संस्कृतिलाई जोगाउनु पर्छ, अहिलेका बच्चाहरुलाई पिङको महत्व नै छैन, हामीले परम्परालाई जोगायौँ भने पछिका पुस्ताले पनि त्यसको जगेर्ना गर्छन् कि भनेर पिङ राख्ने तयारीमा रहेको’ गुरुङले बताए । 

नयाँ प्रविधि तथा आधुनिकताले घेरिएका नयाँ पुस्तामा पिङप्रति त्यति चासो देखिँदैन । ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत मुल्य मान्यतासँग जोडिएका पिङ प्रचलन यसरी नै हराउँदै जाने हो भने अबका पुस्ताका लागि यो एकादेशको कथा नबन्ला भन्न सकिँदैन, उनले भने ।

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार  ०७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।