बाढीपहिरोका कारण १८० जलविद्युत् आयोजना प्रभावित


काठमाडौं । असोज १७ र १८ गतेको भारी वर्षाका कारण तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । भारी वर्षापछि आएको बाढीले ३२ वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संकलन गरेको सोमबार (असोज २०) दिउँसोसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् ।

पूर्वसूचना प्रभावकारी भएका कारण यसवर्ष मानवीय क्षति नभएको इप्पानले जनाएको छ । “विगतका वर्षहरूमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोहीअनुसार पूर्वसूचना प्रेषित गरी मानवीय क्षति हुन पाएन,” अध्यक्ष गणेश कार्कीले भने ।

समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत् आयोजनामा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।

सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका

बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोसी प्रदेशको इलाम जिल्लामा जलविद्युत् आयोजना पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलामका दुई वर्षा मापन केन्द्रमा रेकर्ड ब्रेक वर्ष भएका कारण उक्त क्षेत्रमा रहेका जलविद्युत् आयोजना प्रभावित भएका हुन् । इलाम टी–स्टेट र हिमाली गाउँ केन्द्रमा रेकर्ड ब्रेक वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४।५ मेगावाटको माइखोला, आठ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला (सानिमा माइ), सात मेगावाटको माइ क्यासकेड, ७।८ मेगावाटको सुपरमाई, ९।६ मेगावाटको सुपरमाइ ‘ए’, तीन मेगावाटको सुपरमाइ ‘ए’ क्यासकेड, ७।६ मेगावाटको जोगमाइ खोला, ५।२ मेगावाटको जोगमाइ क्यासकेड, ६।२ मेगावाटको तल्लो जोगमाइ, ९।५ मेगावाटको माइबेनी, ९।९ मेगावाटको माथिल्लो माइ, ५।१ मेगावाटको माइ ‘सी’ क्यासकेड, ४।९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत् आयोजना इलाम जिल्लाका रहेका छन् ।

बाँकी दुई आयोजनामध्ये कोसी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४।९ मेगावाटको हेवाखोला र वाग्मती प्रदेशमा रहेको ५२।४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजना प्रभावित भएका छन् । लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु ४ को भने एक घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो ।

निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा

निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९।९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए ।

यसै वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए ।

निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवद्र्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत् उत्पादन मिति पर सरेको छ ।

पाँचथरमा रहेको २१।५ मेगावाटको सभाखोला बी र ९।९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री र निर्माण उपकरण नै बगाएको छ ।

सिन्धुपाल्चोकमा रहेका चार जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६।५१ मेगावाटको ब्रम्हायणी, १५।१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२।५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५।५ मेगावाटको इर्खुवा खोला बी, १४।५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२।५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६।८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८।८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४।५ मेगावाटको गसाली खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत् उत्पादन मिति पर सरेको छ ।

सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरूसम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको इप्पानले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार  ०८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।