वाणिज्य बैंकहरुको ‘अफ साइट’ लेखा परीक्षण सुरु


काठमाडौं । बंगलादेशी लेखापरीक्षण फर्म हाउलादर एण्ड युनुसले १० वाणिज्य बैंकको कर्जा केन्द्रित लेखापरीक्षण ‘अफ साइट’ रुपमा सुरु गरेको छ।

लेखापरीक्षणको पहिलो चरणको काम सुरु भएको हो । सरकारले विस्तारित कर्जा लिने क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफं लाई वित्तीय क्षेत्रको कर्जाको गुणस्तर हेर्न १० वाणिज्य बैंकको कर्जा केन्द्रित लेखा परीक्षण गर्ने घोषणा गरेको थियो ।

सोही अनुरुप तत्काल ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, एनआईसी एसिया, एनएमबी र प्रभु बैंकको ‘अफ साइट’ लेखा परिक्षण सुरु गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार हाउलादारले उक्त कर्जा केन्द्रित लेखापरीक्षणलाई ‘अफ साइट’ र ‘अन साइट’ गरेर दुई चरणमा गर्नेछ । हाउलादारले कर्जामा केन्द्रित लेखापरीक्षण गर्दा अफ–साइट र अन–साइटलाई क्वालिटेटिभ र क्वान्टिटेटिभ भनेर गरिरहेको छ ।

हाउलादरले बैंकहरुको छनोट गर्दा गत आर्थिक वर्ष २०८१\८२ को चैतसम्मको तथ्याङकको आधारमा धेरै कर्जा लगानी भएका १० बैंकको छनोट गरेको हो ।

कर्जा केन्द्रित लेखापरीक्षण हाउलादारले प्रोडक्ट, सेक्युरिटी, सेक्टर, टप टेन बिग बरोअर्स, धेरै खराब कर्जा, धेरै गैर बैंकिङ सम्पत्तिलाई वर्गीकरण गरेर नमुना छनोट गर्ने बताइएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार स्थालगत लेखापरीक्षण सबै बैंकमा एकै पटक गर्न २२ जना जनशक्ति आवश्यक पर्छ । त्यसका साथै केन्द्रीय बैंकका २ जना कर्मचारी पनि थप समावेश हुनेछन् । हरेक बैंकमा फर्मका २ जना र केन्द्रीय बैंकका २ गरी ४ जनाले काम गर्नेछन् ।

हाउलादरलाई लेखा परीक्षण सम्पन्न गर्न ३ महिना समय अवधि दिइएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार  ०७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।