ठूलो आकारको मार्जिन नेचर लोन लिनेहरु बढे, कर्जा १ खर्ब ४५ अर्ब नाघ्यो


काठमाडौं । भदौसम्म शेयर धितो कर्जा (मार्जिन नेचर लोन) १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको २ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जा ३.५ प्रतिशतले बढेको हो ।

चालु आर्थिक बर्षको दुई महिनामा शेयर धितो कर्जा झण्डै ५ अर्ब रुपैयाँले बढेको हो ।

नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट ४ अर्ब ९० करोड ७० लाख रुपैयाँ शेयर धितोमा थप कर्जा प्रवाह भएको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका थिए । गत वर्षको यसै अवधिमा भने यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो ।

भदौसम्ममा प्रवाह भएको शेयर धितो कर्जामध्ये १ करोड माथिको कर्जा मात्रै १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ बराबर पुगेको छ । यो गत असारको तुलनामा ३.४ प्रतिशत अर्थात ३ अर्ब ३९ करोड ६१ लाख रुपैयाँले बढी हो । असारसम्म १ करोड माथिको कर्जा लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

यस्तै चालु आवको पछिल्लो दुई महिनामा ५० लाखदेखि १ करोडसम्मको शेयर धितो कर्जा ११.७ प्रतिशतले बढेर १७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो २ महिनामा यो रेन्जमा थप १ अर्ब ८७ करोड कर्जा विस्तार भएको देखिन्छ ।

यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा भने १.७ प्रतिशत घटेर १७ अर्ब २६ करोड रुपैयाँ खुम्चिएको छ । २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ०.८ प्रतिशतले घटेर ८ अर्ब ११ करोडमा खुम्चिएको छ ।

नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले व्यक्तिगत लगानीकर्ताका लागि सीमा खारेज गरेका हुन् । बैंकले धितोपत्र बजारमा आएको गिरावटका कारण कर्जामा लचकता अपनाएको होे ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।