संघबाट इलामका बाढी पीडितहरुका लागि कम्बल हस्तान्तरण


मोरङ । असोज ३० गते, बिहिबार, मोरङ उद्योग व्यापार संघले इलामका बाढी पीडितहरुका लागि राहत स्वरुप २५० पचास थान कम्बल हस्तान्तरण गरेको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल सहित संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले बाढी पीडितहरुको उद्दार कार्यमा सक्रीय श्रस्टा नेपालकी अध्यक्ष विन्दीया कार्की मार्फत आज उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सो सामग्रीहरु हस्तान्तरण गर्दै संघका अध्यक्ष राठीले गत साता भीषण वर्षका कारण इलामका विभिन्न स्थानमा बाढी पहिरोले प्रभावित भई हाल अस्थायी शिविरमा कष्टपूर्ण जीवन विताइरहेका सयौँ पीडितहरुलाई केहि हदसम्म राहत पुर्याउने उद्देश्यले संघबाट उक्त सामग्रीहरु पठाइएको जानकारी गराए।

साथै, संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रिजालले बाढी पहिरोका कारण इलाममा मात्र दर्जनौँले ज्यान गुमाएको प्रति दुःख व्यक्त गर्दै बाढी पीडितहरुको कष्टपूर्ण जनजीवनलाई सामान्य बनाउन सरकार र सबै वर्ग सक्रीय रहनु पर्ने बताएका थिए ।

इलाममा गत साता भीषण वर्षका कारण अनपेक्षित स्थानहरुमा समेत बाढी पहिरो गई ठूलो जनधन तथा संरचनागत क्षति भएको थियो । जसमा परी दर्जनौँको ज्यान गएको थियो भने कैयौँ व्यक्ति घाइते र सयौँ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।