काठमाडौँ । भक्तपुका प्रजापति समुदायका हातले बनाइने माटाका दियो वर्षौंदेखि तिहार पर्वको विशेष पहिचान बनेका थिए । तर केही वर्षयता विदेशी बत्तीको तिव्र आयातले प्रजापति समुदायका माटोका दियो ओझेलमा पर्दै गएका छन् ।
तिहारमा पहिलेजस्तो प्रत्येक घरमा दर्जनौं माटोका दियो किन्ने चलन हराउँदै गएको छ। अब मानिसहरू अन्य देशबाट आयात गरिएका विद्युतीय झिलिमिली बत्तीहरू प्रयोग गर्न थालेका छन्। यस्ता बत्तीहरू सजिलो, सस्तो र पटक–पटक प्रयोग गर्न मिल्ने भन्दै लोकप्रिय बनेका हुन् ।
तर, यी विदेशी बत्तीहरुले नेपालमा संस्कृतिमा आँच आएको छ । विशेषगरी भक्तपुरका प्रजापति समुदायले बनाउने यी माटोका दियो नेपाली सांस्कृतिक पहिचानको एक अभिन्न अंग बनेका थिए।
माटोको दियो केवल उज्यालोको साधन मात्र नभइ सांस्कृतिक चेतना र पहिचानको एक अमूल्य अंश भएको संस्कृति विज्ञहरु बताउँछन् ।
‘अहिले मानिसहरुमा प्रतिस्पर्धा गर्ने बानी हाबी भएकोले गर्दा पनि दियोको संस्कृति लोप हुँदै गएको हो । पहिले घरघरमा दियो बालेर तिहार मना्इथ्यो, तर विस्तारै कसको घर धेरै उज्यालो हुन्छ भन्ने प्रतिस्प्रर्धा बढ्न थाल्यो । दियोले धेरै उज्यालो हुँदैन । अनि विकल्प नै विदेशी बत्ती भए’ एक संस्कृति विज्ञले भने । देखावटी गर्ने चलनले विदेशी बत्ताी आयात हुन थालेको बताए ।

चालु आर्थिक वर्षको पछिल्लो दुई महिना (साउन र भदौ) मा मात्रै करिब २६ करोड ८ लाख ७९ हजार ७९२ रुपैयाँ बराबरको विभिन्न डिजाइन र रङ्गका झिलिमिली बत्ती आयात भएको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्ष २०८१\८२ मा मात्रै १ अर्ब ४३ करोड बराबरको ८० लाख ६८ हजार पिस झिलिमिली बत्ती आयात भएको थियो।
भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी २०८०\८१ मा १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको ९९ लाख ५४ हजार ५ सय ४९ पिस झिलिमिली आयात भएको थियो ।
तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन् ।
माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट चल्ने झिलिमिली बत्तीको प्रचलन बढेकोले माटोका दियो र भाँडाकुँडाहरु बनाउने त्यो समुदायलाई अहिले नयाँ पुस्तालाई आकर्षित गर्न तथा आम्दानी सुनिश्चित गर्न चुनौती थपिएको छ ।
भक्तपुरको सुकुलढोका नजिकैको एक कुम्हाल परिवारमा भेटिएका ६५ वर्षीय कृष्णहरि प्रजापति आफ्ना छोरा नातिलाई यो पेशामा आउने सुझाव दिन नसकिने बताउँछन् । माटोका दियो बनाएरै छोरा–छोरीलाइ उच्च शिक्षा दिएका उनीले अहिलेको समयमा यसबाट जीवकोपार्जन गर्न नसकिने बताए ।
उनी भन्छन्, ‘दियो बाल्ने चलन तिहारको आत्मा हो। यसमा उज्यालोसँगै परम्परा, श्रद्धा र संस्कृति बल्छ। तर अहिलेका नयाँ पुस्ता प्लास्टिकका रङ्गीचङ्गी बत्तिमा रमाइरहेका छन्।’
‘अहिले माटो र दाउराको अभावले समस्या आएको उनको भनाइ छ । प्रजापतिले साँखुबाट व्यापारीले एक मिनीट्रक माटोको १३ हजारदेखि १५ हजार रुपैयाँसम्म लिने गरका छन् ’उनले भने, ‘यो विषयमा सरकारले ध्यान दिनुपर्छ ।’
भर्खरै बनाइएको एक दर्जन माटोका दियोहरू ओभनमा राख्नै उनले आफ्ले यहि पेशाबाट एउटा छोरालाई अष्टेलिया र अन्य २ छोरीहरुलाई उच्च शिक्षा दिएका बताए ।
उनले भने, ‘ पहिले सिजनको बेला दुई महिना धेरै काम ग¥यो भने बाँकी समय धानिन्छ भन्ने हुन्थ्यो अहिले वर्ष भरी नै माटोको काम गरे पनि परिवार पाल्न मुस्किल छ,’ उनले दुःख व्यक्त गरे।’
दिपावली, छठपर्वलगायतमा उनले दियो, ढकनी, घैँटो, मटिया, कुसियाको थोरै मात्रामा माग आएको उनको भनाए छ । कुनै समय ती भाँडाकुँडा पूर्ति गर्न भ्याइनभ्याई हुने गरेको भएतापनि अहिले त्यसको आधा मात्र माग हुँदै आएको उनी बताउँछन् ।
उनले अन्य समयमा माटोका भाँडा बनाउने भट्टाबाट रक्सी पार्ने हण्डा, मकै भुट्ने हाडी, पानी राख्ने भुड्का, गाग्री, घैँटा, धुपौरे, खोतउली, फूलका गमला, आरी, डुगुल्की, सुराइ, खुत्रुक्के, कमलदानी, कलश, पाला, दियोलगायत सामग्री बनाउँदै आएका छन् ।
यस्तै, भक्तपुरमै माटोका भाँडाकुँडा बनाएर बेच्ने ४० वर्षिय रमेश प्रजापति सरकारले उचित पहल नगरिदिँदा आफुहरु विस्थापित हुने अवस्था आएको बताउँछन् ।
भक्तपुरका पाला देशका विभिन्न ठाउँमा पुर्याउन सकिने भएकोले सरकारले यसमा ध्यान दिनु पर्ने बताए । उपत्यका र काभ्रेमा मात्रै खपत हुने उनी बताउँछन् ।
यस्तै, भाँडा बनाउने परम्परागत मेसिन लोप भएपछि आफुहरुलाई समस्या परेको उनको भनाइ छ । उनले यस वर्ष १५ हजार पाला बिक्री गरेका छन् । जुन विगतको वर्षहरुको भन्दा दोब्बर कम हो ।
‘अहिले माटो र दाउराको अभावले समस्या आएको उनको भनाइ छ । प्रजापतिले साँखुबाट व्यापारीले एक मिनीट्रक माटोको १३ हजारदेखि १५ हजार रुपैयाँसम्म लिने गरका छन् ’उनले भने, ‘यो विषयमा सरकारले ध्यान दिनुपर्छ ।’
केही वर्ष अगाडिसम्म भक्तपुरमै अहिले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उनले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताए ।
उनले यसवर्ष एक दर्जन पाला ४० रुपैयाँमा खुद्रा बिक्री गरिरहेका छन् थोकमा भने प्रतिगोटा दुई रुपैयाँमा बिक्री भइरहेको उनले बताए ।












प्रतिक्रिया