ग्लोबल आइएमई क्यापिटलद्वारा त्रिभुवन विद्यालयमा वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम


काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बागलुङ जिल्लाको पैंयुपाटामा अवस्थित श्री त्रिभुवन माध्यमिक विद्यालय, पैंयुपाटा, बलेवामा असोज ३१ गते धितोपत्र बजारसँग सम्बन्धित लगानी शिक्षा, पूँजीबजार लगायतको बारेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरुको बारेमा प्रस्तुति दिए । त्यसैगरी सोही कार्यक्रममा क्यापिटलको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल बोर्ड प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ग्लोबल आइएमई क्यापिटलका सञ्चालक एवं नेपाल सरकारका पूर्व सहसचिव शालिग्राम शर्मा पोडेलले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा विद्यार्थी भाइबहिनी लगायत स्थानिय व्यक्तिहरुलाई आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको बताए । शिक्षण सिकाईका माध्यमबाट कक्षाकोठालाई सिकाई थलोका रुपमा परिवर्तन गर्नको लागि यस किसिमको शैक्षिक सामाग्रीले शैक्षिक गुणस्तरमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

बागलुङ नगरपालिका वडा नं. १३ पैंयुपाटा, बलेवाका वडाध्यक्ष नारायण शर्मा पौडेलले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट शेयरको प्राथमिक बजारमा लगानी गरी अधिकतम लाभ लिनसक्ने बताए । शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालयको पठनपाठनलाई प्रविधिमैत्री बनाउनको लागि क्यापिटलले डिजिटल बोर्ड उपलब्ध गराएकोमा क्यापिटल प्रति हार्दिक आभार व्यक्त गरे ।

त्यसैगरी कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राम बहादुर के.सी.ले विद्यालयका विद्यार्थी, शिक्षक, सामुदायिक संघसंस्था एवं स्थानिय समुदायको प्रतिनिधिहरुलाई क्यापिटलले वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन तथा डिजिटल बोर्ड प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रध्यानापक कृष्ण प्रसाद पौडेलले सहयोगले विद्यालय र समुदायमा क्यापिटल मार्केटसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुको साथै डिजिटल बोर्डको माध्यमबट विद्यालयको शिक्षण सिकाई प्रक्रियालाई आधनुकिकरण गरी शैक्षिक गुणस्तर अभिवृद्धिको लागि महत्वपूर्ण योगदान विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार  १६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।