तिहार

यमपञ्चकका पाँच दिनः कुन दिनको महत्त्व के ?


काठमाडौं । तिहार हिन्दुहरूको दशैंपछिको सबैभन्दा महान चाड मानिन्छ । यो पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भई पाँच दिनसम्म मनाइन्छ । तिहारका पाँच दिनहमा हिन्दुहरूले विभिन्न देवी देवता तथा जनावरहरूको पूजा गर्ने गर्छन् ।

तिहारको पहिलो दिन काग तिहार मनाइन्छ, जुन दिन कागको पूजा गरिन्छ । तिहारको दास्रो दिन कुकुर तिहार हो, जुन दिन कुकुरको पूजा गरिन्छ । तेस्रो दिन गाई तिहार लक्ष्मी पूजा मनाइन्छ, जहाँ धनकी देवी लक्ष्मी र गाईको पूजा गरिन्छ । यो दिन साँझ घरघरमा दियो बालेर उज्यालो पर्वका रुपमा पनि मनाइन्छ । चौथो दिन गोवर्धन पूजा वा गोरु तिहार मनाइन्छ, यस दिन गोरुको पूजा गरिन्छ भने तिहारको अन्तिम दिन भाईटीको हो, जुन दिन दिदीबहिनीहरूले दाजुभाईहरूलाई टीका लगाएर उनीहरूको दीर्घायुको कामना गर्छन् ।

यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । ज्योतिष पण्डित आनन्द शास्त्रीका अनुसार, पौराणिक कालमा यो पाँच दिनसम्म मृत्यूका देवता यमराज आफ्नी बहिनी यमुनाको घरमा पाहुना बनेर गएको मानिन्छ ।” तिहारको पहिलो दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ, किनभने यस दिन भगवान देवताका वैद्य धन्वन्तरीको जन्म भएको थियो । तिहारमा पिङ खेल्ने, उज्यालोले घर रङ्गी चङ्गी बनाउने, देउसीभैलो खेल्ने र सेलरोटी जस्ता स्वादिष्ट परिकार खाने चलन छ ।

पण्डित शास्त्रीका अनुसार, “पौराणिक कालमा यमराजले बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी उनको घरमा रमाइलो गरेका थिए । यमुनाको आतिथ्यबाट प्रसन्न भएर यमराजले उनलाई वरदान माग्न भने, यमुनाले हरेक वर्ष आफूलाई भेट्न आउनु पर्ने, यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मिठा खानेकुरा दिएमा प्रेम सधैं अटल रहने, र दाजुभाइको आयु, कीर्ति सधैं बढ्ने वरदान मागिन् । यमराजले “तथास्तु” भन्दै वरदान दिए । त्यसैबेलादेखि यो पर्व मनाइँदै आएको मानिन्छ ।”

यसका साथै तिहारले मानिस र जनावरबीचको गहिरो सम्बन्ध देखाउँछ । यसले दाजुभाइ र दिदीबहिनीबीचको पवित्र प्रेम र स्नेहलाई उजागर गरेको छ ।

पहिलो दिनः काग तिहार

कार्तिक कृष्ण त्रयोदशीमा कागको पूजा गरी काग तिहार मनाइन्छ । काग धेरै चलाख चरा हो र यसले सबैलाई समान दृष्टिले हेर्छ । यसले बालीनालीमा लाग्ने कीरा फट्याङ्ग्रा खाएर सहयोग गर्छ । पण्डित शास्त्री भन्छन्, “कागलाई यमराजको सन्देशवाहक र यमदूतका रूपमा पनि लिइन्छ । त्यसैले, यस दिन कागको पूजा गरिन्छ ।” धेरै पहिलेको समयमा सञ्चारको आदान प्रदान गर्नको लागि कागलाई नै प्रगोग गरिन्थ्यो ।

दोस्रो दिनः कुकुर तिहार

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन, कार्तिक कृष्ण चतुर्दशीमा मनाइन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई यमदूतका रूपमा लिइन्छ र यो यमराजको अर्को प्रिय भक्त हो । कुकुर आज्ञाकारी र रक्षक जनावर हो । यसले घरको रेखदेख गर्छ, चोर डाँकाबाट बचाउँनुका साथै कुनै प्राकृतिक प्रकोपको पूर्वसूचना पनि दिन सक्छ । त्यसैले, कुकुर तिहारमा कुकुरको पूजा गरिने शास्त्री बताउँछन् ।

तेस्रो दिनः गाई तिहार र लक्ष्मी पूजा

गाई नेपालको राष्ट्रिय जनावर हो र यसलाई देवीका रूपमा पुजिन्छ । पण्डित शास्त्री भन्छन्, “गाईको गहुँत र गोबर पनि हिन्दू धर्ममा पवित्र मानिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानिन्छ, त्यसैले तिहारमा गाईको पूजा गरिन्छ । ” गाई पूजा र लक्ष्मी पूजा एकै दिन मनाइन्छ । यस दिन साँझमा घरघरमा दियो बालेर दीपावली गरिन्छ र भैलो खेलिन्छ ।

यसका साथै यस दिन घरआँगन गाईको गोबरले लिपेर र गहुँत छर्किएर पवित्र बनाउने हिन्दू परम्परा छ । गाईको दुध आमाको दुध जति नै पौष्टिक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई धेरै अँध्यारो मानिन्छ, त्यसैले यसलाई प्रकाशले उज्यालो बनाउन घरघरमा बत्ती बालेर लक्ष्मीको आह्वान गरिन्छ ।

अर्को एक मान्यता अनुसार, यमराजले यमपञ्चकका पाँच दिन आफ्‌नी बहिनी यमुनाकहाँ बसेकाले यस दिन मृत्यु हुने मानिसले नरक देख्नु पर्दैन भन्ने विश्वासमा दीपावली मनाउने प्रचलन सुरु भएको उनी बताउँछन् । सुख, सम्पत्ति र ऐश्वर्यको कामना गर्दै कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष पूजा आराधना गरिन्छ, जुन तिहारको तेस्रो दिनको र सम्पूर्ण महत्त्वपूर्ण विशेषता हो ।

चौथो दिनः गोरु तिहार (गोवर्धन पूजा)

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ । पण्डित आनन्दका अनुसार, गोकुल शहर नजिकै गोवर्धन नामको पर्वत थियो । भगवान कृष्ण गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू इन्द्रको पूजा गर्दथे, तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे । कृष्णले गोकुलवासीहरूलाई इन्द्रको सट्टा गोवर्धन पर्वतको पूजा गर्न सल्लाह दिए, किनभने पर्वतले खनिज, घाँस, पानी र दाउरा दिन्छ ।

आफ्‌नो सट्टा गोवर्धन पर्वतको पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वर्षा गराए । भगवान कृष्णले गोवर्धन पर्वतलाई आफ्‌नो हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिए । अन्तमा, इन्द्रले आफ्‌नो गल्‌ती महसुस गरी कृष्णसँग क्षमा मागे । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।” यस दिन घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । साथै, सालभरि अन्न उब्जाउन हलो जोत्ने गोरुको पनि पूजा गरिन्छ ।

अन्तिम दिनः भाइटीका

भाइ तिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । कार्तिक शुक्ल द्वितीयामा पर्ने यो पर्व दिदीबहिनीदाजुभाइबीचको आत्मीयता साटासाट गर्ने विशेष दिन हो । पण्डित शास्त्रीका अनुसार,

“द्वितीया याम्यला देवी, पूजिता शुभदायिनी

अमर राज वर्धस्व, भ्राता तव महायशः ।”

यो मन्त्र भन्दै टीका लगाइदिएपछि दाजुभाइको लामो आयु, धनधान्य वृद्धि र प्रगतिको कामना गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिन्छन् । यसका साथै सेलरोटी, फिनी जस्ता परिकारहरू पनि दिने चलन छ । यो सबै दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनाका लागि गरिन्छ । अन्तिममा दाजुभाईले दिदीबहिनीहरूलाई दानदक्षिणा एवं वस्त्र दिन्छन् । योसँगै तिहारको अन्त्य हुन्छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार  १६ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।