काठमाडौं । लामो समयदेखि समस्यामा परिरहेको लघुवित्त क्षेत्रमा यस आर्थिक वर्षको सुरुवातसँगै सुधार देखिन थालेको छ ।
ऋण असुलीमा समस्या, दोहोरो सदस्यता, ब्याजदरको असन्तुलन र आर्थिक मन्दीका कारण जोखिममा परेको यो क्षेत्र अहिले नाफा, आम्दानी र परिचालन सूचकहरू सबैमा सुधारतर्फ जान थालेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौ महिनासम्म लघुवित्त वित्तीय संस्थाहरूले एक खर्ब ३ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो महिनाको तुलनामा ७७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सो अवधिमा लघुवित्तको खुद नाफा मात्र ५९ करोड रुपैयाँ रहेको थियो। यसले लघुवित्तको नाफा वृद्धिदर विगत वर्षको तुलनामा अत्यधिक सुधारिएको प्रष्ट पार्छ।
ब्याज आम्दानी बढ्दै, खर्च नियन्त्रणमा
लघुवित्तहरूको नाफा बढ्नको मुख्य कारण ब्याज आम्दानीमा आएको उल्लेख्य वृद्धि हो। चालु आवको भदौसम्म लघुवित्तहरूले १० अर्ब २१ करोड ६० लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेका छन्। सोही अवधिमा ब्याज खर्च ५ अर्ब १६ करोड ८० लाख रुपैयाँ रहेको छ। ब्याज आम्दानी खर्चभन्दा दोब्बर हुँदा खुद नाफामा उल्लेख्य सुधार आएको हो।
अर्कोतर्फ, लघुवित्तले सञ्चालन आम्दानीबाट भने अझै ठूला नतिजा निकाल्न सकेका छैनन्। भदौसम्मको अवधिमा सञ्चालन आम्दानी ‘शून्य’ देखिएको केन्द्रीय बैंकले जनाएको छ, तर ब्याज आम्दानीले त्यो घाटा पूर्ति गरेको छ।
बढ्दो जोखिम नियन्त्रण गर्न लघुवित्तहरूले छुट्याएको रकम पनि उल्लेख्य रूपमा बढाएका छन्। भदौसम्म उनीहरूले ३ अर्ब ६४ करोड ९० लाख रुपैयाँ जोखिम व्यवस्थापन कोषमा राखेका छन्, जुन साउन महिनाको तुलनामा ६० प्रतिशतले बढी हो।
घट्दो ब्याजदर र अधिक तरलताको फाइदा लघुवित्तमा
बैंकिङ प्रणालीमा घट्दो ब्याजदर र अधिक तरलता लघुवित्तको लागि अवसर बनेको छ। बैंकहरूले सस्तो कर्जा उपलब्ध गराइरहेका बेला लघुवित्तले ग्रामीण क्षेत्रमा कर्जा विस्तार गर्न सहज भएको छ । तुलनात्मक रूपमा सस्तो पूँजीमा कर्जा लगानी गर्न पाउँदा नाफा बढेको विश्लेषकहरूको भनाइ छ।
लघुवित्तकर्मीहरूका अनुसार, बैंकहरूमा कर्जाको माग घट्दै गएको अहिलेको अवस्थामा लघुवित्तको सानो स्तरको कर्जाको माग भने स्थिर छ। यही कारणले लघुवित्तहरू सस्तो स्रोतको उपयोग गरेर नाफा बढाउन सफल भएका हुन्।
निष्क्रिय समूह घटे
अघिल्ला वर्षहरूमा निष्क्रिय समूह र ऋणीको समस्या लघुवित्त क्षेत्रमा ठूलो चुनौती बनेको थियो। तर अहिले उक्त सूचक सुधारिन थालेको छ। साउनमा ७ लाख ९८ हजार रहेको निष्क्रिय सदस्य संख्या भदौसम्म आइपुग्दा ७ लाख ९१ हजारमा सीमित भएको छ।
कोरोना महामारी र आर्थिक मन्दीपछिको कठिन अवस्थाबाट लघुवित्त क्षेत्र उठ्ने क्रममा नेपाल राष्ट्र बैंकले नीति सुधारका थुप्रै कदम चालेको थियो। दोहोरो सदस्यता नियन्त्रण, कर्जा लगानीको सीमा, ब्याजदर नीतिमा एकरूपता र नियमन कडाइका उपायहरू डेढ वर्षअघि लागू गरिएका थिए।
विश्लेषकहरूका अनुसार, ती सुधारात्मक नीतिहरू अहिले परिणाम दिन थालेका छन्। परिचालन दक्षता बढ्दै गएको, जोखिम घट्दै गएको र नाफा बढ्दै गएको तथ्यांकले त्यसको पुष्टि गरेको छ।
तर, समयमा कर्जाको सावा र ब्याज तिर्न नसक्ने ऋणीको संख्या भने अझै उच्च छ। साउनमा ९ लाख ९ हजार रहेको ओभरड्यु ऋणी भदौमा ७ लाख ५३ हजार पुगेको छ। यसले जोखिम अझै पूर्णरूपमा हट्न नसकेको तथ्यांकले देखाएको छ ।
लघुवित्त वित्तीय संस्थाका बचतकर्ता र कुल बचत रकममा पनि वृद्धि देखिएको छ। चालु आवको भदौसम्ममा लघुवित्तका ६२ लाख ५७ हजार बचत सदस्य छन्। कुल बचत रकम २ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसले वित्तीय पहुँच विस्तार हुँदै गएको समेत देखाएको छ ।












प्रतिक्रिया