काठमाडौँ । चलचित्र ‘गौथली’ ले हालसम्म २५ करोड ८६ लाख बढी कमाई गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिस सार्वजनिक गरेको तथ्यांक अनुसार गौथलीले ९ लाख ३० हजार ७४४ वटा टिकटबाट २५ करोड ८६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको हो ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र गौथली यस वर्षको सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ । डा. कपिल रिजाल निर्देशनमा तयार भएको सो चलचित्रले प्रदर्शनरत अन्य चलचित्रहरुले भन्दा राम्रो कमाई गरेको छ ।
त्यसैगरी, गत शुक्रबार अर्थात भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले ५४ हजार ७३५ वटा टिकटबाट १ करोड ५८ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । अभिनेत्री नीता ढुंगानाको निर्देशन रहेको उक्त चलचित्र अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर बनेको छ ।
त्यस्तै, चलचित्र मास्टर्नीले १२ हजार १९७ वटा टिकटबाट ४० लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ । भदौं ५ देखि प्रदर्शनमा आएको उक्त चलचित्र सुवेन्धू घोषले निर्देशन गरेका हुन् ।
यस्तै, हलमा प्रदर्शनरत चलचित्र ‘हली’ ले हालसम्म २३ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । चलचित्रको ८ हजार ५२५ टिकट बिक्री भएका छन् । ओम प्रतीकद्धारा निर्देशित चलचित्र ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आएको हो ।





प्रतिक्रिया