काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा लक्ष्यको १६.८३ प्रतिशत राजस्व संकलन भएको छ ।
सरकारले यो अवधिमा २ खर्ब ४९ अर्ब ५ करोड १५ लाख रुपैयाँ राजस्व उठाएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको महालेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
सरकारले कर राजश्व २ खर्ब ३४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ र गैर कर राजश्व १४ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ संकलन गरेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ५० अर्ब ४६ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यो आधारमा हेर्दा यो अवधिको राजस्व संकलनमा कमी आएको हो ।
यस्तै, सोही अवधिमा सरकारले दातृ निकायबाट २ अर्ब बढी रकम प्राप्त गरेको छ । वर्षभरिमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबरको अनुदान ल्याउने लक्ष्य राखेकोमा २ अर्ब ७२ लाख रुपैयाँ प्राप्त गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारले अनुदान प्राप्त गर्न नसकेको कार्यालयले जनाएको छ ।
त्यस्तै, यो अवधिमा २ अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको अन्य आम्दानीहरु प्राप्त गरेको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
पुँजीगत खर्च ४.७ प्रतिशत मात्र
चालु आवको साउनदेखि असोजसम्ममा १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ८.३६ प्रतिशत पुँजीगत खर्च भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २१.७५ प्रतिशत चालु खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो खर्च गत वर्षको पहिलो त्रैमासको तुलनामा केही बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा २ खर्ब ३० अर्ब १४ करोड ७९ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २०.१८ प्रतिशत चालु खर्च भएको थियो ।












प्रतिक्रिया