सेयर बजारमा उत्साह बढ्दै, यो साता ९६ अंकले बढ्यो नेप्से


काठमाडौं । सेयर बजार परिसुचकमा यो साता उत्साहजनक वृद्धि देखिएको छ । यो साता नेप्से ९६.५३ अंकले बढेर २६००.३८ विन्दुमा पुग्दा कारोबार रकममा पनि उत्साहजनक उछाल आएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार कारोबार रकम २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँ पुगेको थियो । उक्त कारोबार रकम साताको कारोबारको अन्तिम दिन बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । यो अवधिमा कारोबार रकममा ४ अर्ब ८५ करोड २६ लाख ३६ हजार रुपैयाँले सुधार आएको छ ।

साथै यो सातामा कुल बजार पूँजीकरणमा सुधार आउँदा लगानीकर्ताले १ खर्ब ५२ अर्ब ७० करोड ७१ लाख रुपैयाँ कमाएका छन् । साताको कारोबारको पहिलो दिन आइतबार कुल बबजार पूँजीकरण ४१ खर्ब ९४ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ कायम भएकोमा कारोबारको अन्तिम दिन बिहीबार ४३ खर्ब ४७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।

यो वृद्धि केबल आर्थिक सुचकहरुले मात्र नभएर देशमा आन्दोलन पछिको वातावरण स्थिर र विश्वासिलो बन्दै गएकोले लगानीकर्ताका मनोबलमा सुधार हुँदै जानुको परिणाम भएको विश्लेषकहरुको भनाइ छ ।

पछिल्लो दिनमा विकसित राजनीतिक घटानाक्रमहरुले लगानीकर्तामा अन्यौलता र डरको वातावरण सिर्जना भएको थियो । तर विस्तारै सबै कुरा सामान्य बन्दै गएपछि लगानीकर्ता आशावादी देखिएको सेयर बजारका जानकार भरत रानाभाट बताउँछन् । तिहार पछि पनि आन्दोलन र अस्थिरता कायम रहन्छ की भन्ने चिन्तामा रहेका लगानीकर्ताहरु सबै राजनीतिक दल आन्दोलनकारी जेन जी समूह र अन्य शक्तिहरु पनि सँगै वार्तामा बस्न थालेकोले लगानीकर्ता केहि विश्वासिलो बनेको उनको बुझाइ छ ।

चाडपर्वको समय सकिएकोले लगानीकर्ताहरु बजार प्रति आकर्षित बन्न पुगेको छन् । साथै अर्थमन्त्रालयले सुझाव समितिले दिएका कुराहरु कार्यान्वन गर्दा र राष्ट्र बैंकले पनि विभिन्न नीतिगत सुधार गर्दा सेयर बजारमा सुधार आएको रानाभाट बताउँछन् । आन्दोलनको विध्वंस पछि पनि समग्र आर्थिक सुचकहरु राम्रै देखिएको बताउँदै उनी भन्छन्, “बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएको कारणले सेयर बजारमा सुधार आएको हो ।”

नोटबजारसँगै कुरा गर्दै रानाभाटले भने,“ राजनीतिक स्थिरतासँगै, बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्था बढ्दै जानु, लगातार ब्याजदर घट्दै जानु र केहि कम्पनीहरुको आकर्षक वित्तीय प्रतिवेदन तथा लाभांश घोषणाले पनि बजारमा सुधार आएको हो ।”

यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले पुँजीबजारलाई उकास्न लगानीकर्ताहरूको माग बमोजिम विभिन्न नीतिगत अवरोधहरू हटाएको थियो । यसअघि खुकुलो पारिएको सेयर धितो कर्जा सीमा, नेप्सेको अन्तिम मूल्य गणना विधि परिमार्जन र संस्थागत लगानीसम्बन्धी सहजताले पनि बजारमा विस्तारै उत्साह आएको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका रानाभाटको भनाइ छ ।

उनका अनुसार, “लगानीकर्तामा डरको वातावरण सिर्जना हुँदा अर्थ मन्त्रालय र राष्ट्र बैंकले दिएको एन्टिबायोटिक (नीतिगत सुधार) भन्दा देशमा भएको जेन जी आन्दोलनले सिर्जना गरेको राजनीतिक अस्थिरता र अनिश्चितता बढी शक्तिशाली देखिएको थियो । तर पछिल्लो समय सबै कुुराहरु सामान्य बन्दै जाँदा लगानीकर्ता आशावादी भएका छन् ।”

राष्ट्र बैंकले सुरुमा एक बैंकबाट ४ करोड र कुल १२ करोडको सीमा तोके पनि पछि त्यसलाई संशोधन गर्दै १२ करोडको सीमा एकै बैंकबाट लिन सक्ने व्यवस्था गरेको थियो । यसका साथै संस्थागत र व्यक्तिगत दुवैतर्फको कर्जा सीमा (जसमा व्यक्तिगततर्फ २५ करोडको सीमा थियो) समेत खारेज गरिएको थियो ।

नेप्सेको अन्तिम १५ मिनेटको भारित औसत गणना विधि खारेज गरियो । साथै, बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाइएको थियो । यी कुराहरुको असर बजारमा विस्तारै देखिन थालेको सेयर बजारका जानकारहरू बताउँछन् ।

यो हप्ताको वृद्धिमा बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लघुवित्त लगायतका प्रमुख समूहहरुमा सुधार देखिएको छ । विस्तारै कायम हुँदै गएको राजनीतिक स्थिरताले पूर्वाधार विकासका परियोजनाहरुले गति लिने अपेक्षाका साथ जलविद्युत तथा लगानी समूहहरुमा लगानीकर्ताको उत्साह बढेको देखिन्छ ।

साथै नेपाल धितोपत्र बोर्डले बजारमा विश्वसनीयता र लगानीकर्ताको सुरक्षाका लागि आफ्नो नियमनकारी भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको लगानीकर्ताहरू बताउँछन् । राजनीतिक स्थिरता र चुनावको घोषणाले बजारमा सकारात्मक ऊर्जा थपेको भएपनि अर्थतन्त्रको संरचनात्मक सुधार र नीतिगत निरन्तरता आवश्यक हुने लगानीकर्ताहरूको भनाइ छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १५ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।