दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । आज सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते बुकक्लोज गर्ने भएका छन्। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकहरुको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

यस्तै, सिद्धार्थ बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ।

यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

 

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार  ०७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।