पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ३ महिनामा सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए।
जबकी गत आवको ३ महिनामा भने ६ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको ३ महिनामा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवको ३ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ मूल्य पर्ने २४ हजार ९ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड रुपैउाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै गत आवको ३ महिनाको अवधिमा भने २ अर्ब ४९ करोड रुपैयाँ मूल्य पर्ने १९ हजार ४ सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको ३ महिनामा ६२ करोड २४ लाख रुपैयाँ मूल्य पर्ने ३ सय ३० जीप, कार र भ्यानको आयात भएको छ ।
ती सवारीसाधनको आयातबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको ३ महिनाको अवधिमा भने ७६ करोड ५८ लाख रुपैयाँ मूल्य पर्ने ४ सय ३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारीसाधनको आयातबाट भने १ अर्ब ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ मूल्य पर्ने २ सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गत आवको ३ महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट ९ करोड ११ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।












प्रतिक्रिया