काठमाडौं । पछिल्ला दुई वर्ष यता बैंक तथा फाइनान्स कम्पनीहरूले विपन्न वर्गका लागि प्रवाह गर्ने कर्जामा कटौती गरेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकले समावेशी वित्तीय प्रणालीको उद्देश्य बोकेर अघि बढेका बैंकहरू अहिले विपन्न वर्गका ऋणमा चासो घटाउँदै गएको देखाउँछ ।
चालू आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा वाणिज्य, विकास र फाइनान्स कम्पनीहरूले गरी कुल ५६ खर्ब १७ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तर यसमध्ये केवल ५.५२ प्रतिशत अर्थात् दुई खर्ब ७९ अर्ब आठ करोड ७० लाख रुपैयाँ मात्र विपन्न वर्गमा पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ अर्ब ६२ करोड ३० लाख रुपैयाँले कम हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा फाइनान्सहरूले ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा कुल ६.२२ प्रतिशत अर्थात् तीन खर्ब पाँच अर्ब ७१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यसले विपन्न वर्गका लागि लक्षित कर्जाको हिस्सा क्रमशः घट्दै गएको देखाएको छ ।
वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा पनि सोही प्रवृत्ति देखिएको छ । चालू आवको भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल ४९ खर्ब ९१ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यसमध्ये ५.४० प्रतिशत अर्थात् दुई खर्ब ४२ अर्ब ७६ करोड ९० लाख रुपैयाँ मात्र विपन्न वर्गमा पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा १९ अर्ब ५५ करोड ८० लाख रुपैयाँले कम हो । गत आवमा वाणिज्य बैंकहरूले कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ६.०३ प्रतिशत अर्थात् दुई खर्ब ६२ अर्ब ३२ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा पुगेको थियो ।
विकास बैंकहरूले पनि विपन्न वर्गका लागि कर्जा प्रवाहमा कटौती गरेका छन् । चालू आवको भदौ मसान्तसम्ममा विकास बैंकहरूले कुल पाँच खर्ब २२ अर्ब ८० करोड ४० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा ६.६१ प्रतिशत अर्थात् ३२ अर्ब नौ करोड ७० लाख रुपैयाँ मात्र विपन्न वर्गमा पुगेको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरूले ७.७४ प्रतिशत अर्थात् ३७ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । यसरी विकास बैंकहरूबाट विपन्न वर्गमा पुग्ने कर्जा पाँच अर्ब ४७ करोड १० लाख रुपैयाँले घटेको छ ।
फाइनान्स कम्पनीहरूको अवस्था अझ कमजोर देखिएको छ । चालू आवको भदौ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब तीन अर्ब ३६ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । तर यसमध्ये ५.४८ प्रतिशत अर्थात् चार अर्ब २२ करोड २० लाख रुपैयाँ मात्र विपन्न वर्गमा पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १.७९ प्रतिशत अर्थात् एक अर्ब ५९ करोड ४० लाख रुपैयाँले कम हो । गत आवमा फाइनान्स कम्पनीहरूले एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा ७.२७ प्रतिशत अर्थात् पाँच अर्ब ८१ करोड ६० लाख रुपैयाँ विपन्न वर्गमा पुगेको थियो ।
समावेशी वित्तीय प्रणालीको अवधारणा अन्तर्गत विपन्न वर्गका लागि लक्षित कर्जा कार्यक्रमलाई राष्ट्र बैंकले वर्षौँदेखि प्राथमिकतामा राख्दै आएको छ । तर पछिल्लो तथ्यांकले—नीति र व्यवहारबीच ठूलो अन्तर रहँदै आएको देखाउँछ ।
अर्थतन्त्र सुस्तताको मुख्य कारण नै साना तथा मझौला क्षेत्र धरासायी हुनु रहेको उनीहरू बताउँछन् । राष्ट्र बैंककै कतिपय प्रावधानका कारण पनि यो क्षेत्रमा कर्जा विस्तार गर्न कठिनाइ हुने गरेको बैंकरको बुझाइ छ ।
साना तथा मझौला व्यवसायलाई कर्जा दिनुपर्ने भए पनि चालु पुँजी कर्जा मार्गदर्शन आकर्षण हुने भएका कारण कर्जा विस्तार गर्न नसकिएको बैंकरहरू बताउँछन् ।
शिथिल अर्थतन्त्र र लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाहमा समेत समस्या आएपछि केही समयदेखि विपन्न वर्गमा जाने कर्जा घट्दै आएको छ । चालु आवमा ब्याजदर घट्दै गएको र बैंकमा लगानी योग्य रकम प्रशस्त रहेको अवस्थामा पनि गत वर्षको तुलनामा अहिले यस्तो कर्जा बढ्न सकेको छैन ।












प्रतिक्रिया