ग्लोबल आइएमई बैंकको नाफा २२.९२ प्रतिशतले बढ्यो


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफा २२.९२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशतले बढेर ९० करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.३६ प्रतिशतले बढेर ५ अर्ब ५१ करोड ६२ लाख १० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा पनि बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ।

बैंकले असोज मसान्तसम्ममा ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  ०७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।