वैदेशिक व्यापारको अवस्था

अर्बौँंको आयात गर्ने भन्सार नाकाबाट निर्यात ‘शून्य’


काठमाडौँ । वैदेशिक व्यापारका लागि सञ्चालित नेपालका २८ वटा भन्सार नाकामध्ये अधिकांश नाका आयातका लागि मात्रै प्रयोग हुने गरेको छ ।

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तथ्यांक हेर्दा सबै नाकाबाट आयात भएको देखिन्छ । तर, निर्यात भने १५ वटा नाकाबाट मात्रै हुने गरेको पाइएको हो । बाँकी १३ वटा नाकाबाट निर्यात शून्य छ ।

सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा ९ अर्ब ४४ करोड ५५ लाख रूपैयाँ बराबरको वस्तु आयात गरिँदा निर्यात भने केही भएको छैन । जबकी अघिल्लो आव २०८१/८२ को सोही अवधिमा १२ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात हुँदा निर्यात भने शून्य नै रहेको थियो ।

सबै वस्तु निर्यात गर्नका लागि पूर्वाधार भएको तर, निर्यात शून्य अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी रमेश बहादुर शाहले बताएका छन् ।

उनका अनुसार सञ्चालनमा आएको लामो समय भइसक्दा पनि तातोपानी नाकाबाट निर्यात भने केही पनि भएको छैन । निर्यातका लागि कुनै पनि रोकटोक र बाधा अवरोध छैन, तर चिनियाँ पक्षबाट मालसामान खरिद नहुँदा शून्य निर्यातको अवस्था छ । नेपालीहरु चीनमा गएर व्यवसाय नसकेका कारण पनि नेपाली वस्तु तथा सामान निर्यात हुन नसकेको हो ।

‘भन्सार कार्यालयबाट कुनै पनि बाधा अवरोध छैन । पूर्वाधारहरू पनि पर्याप्त छन् । जसरी आयात भइरहेको छ । त्यसरी नै निर्यात गर्न सकिन्छ’, उनले भने, ‘तर, चीनले पनि खरिद गरिदिनुप¥यो । स–सानो मालसामान हवाई मार्गबाट जान्छ । ठूलो मात्रामा चीनतर्फको निर्यात नभएकोले शून्य निर्यातको स्थिति आएको हुनसक्छ ।’

निर्यातमा सरोकारवालाहरुको पनि चासो हुनुपर्ने हुन्छ । निर्यात गर्ने वस्तु तथा सामान आए त कार्यालयले निर्यात गरिहाल्छ अधिकारी शाहले बताए । तातोपानी भन्सारको मात्र नभई अन्य भन्सार कार्यालयहरुको अवस्था पनि उस्तै छ ।

साउनदेखि असोजसम्मको अवधिमा झापाको भद्रपुर भन्सार कार्यालयबाट हुने निर्यात पनि वर्षौंदेखि शून्य छ । अहिलेसम्म यस नाकाबाट कुनै पनि वस्तु निर्यात भएको छैन । भद्रपुर भन्सारबाट ३ महिनाको अवधिमा ११ करोड ७९ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ ।

त्यसैगरी, सुथौली नाकाबाट २ अर्ब २७ करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । सुनसरी नाकाबाट ५३ करोड ५१ लाख रुपैयाँ, जनकपुर नाकाबाट २७ करोड ३० लाख रुपैयाँ, महेशपुर नाकाबाट २० करोड २२ लाख रुपैयाँ, सतीबाट १७ करोड १७ लाख रुपैयाँ, सिराहाबाट १० करोड ५२ लाख रुपैयाँ, राजविराजबाट ६ करोड ९० लाख रुपैयाँ, ड्राइपोर्टबाट ४ करोड १० लाख रुपैयाँ, टाँडीबाट १७ लाख रुपैयाँ र त्रिवेणबाट ७४ हजार बराबरको वस्तु तथा सामान आयात भएको छ जबकी यी सबै नाकाबाट निर्यात भने शून्य रहेको विभागको तथ्यांकमा उल्लेख्य छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  ०६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।