काठमाडौं । सिटी होटल लिमिटेडले वर्षेनि घाटा घटाउँदै नाफामुखी यात्रा तय गरेको छ । कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
पछिल्लो समय सिटी होटल विशेषगरी चर्को बैंक व्याज तिर्नुपर्ने बाध्यतामा थियो । यस्तो बाध्यताबीच निरन्तर सुधारात्मक पहल र नयाँ आम्दानी स्रोतहरुको विस्तारसँगै कम्पनी सुदृढ यात्रातर्फ अघि बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले आगामी त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने देखिन्छ । होटलले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउने देखिन्छ । हकप्रद सेयरको लिलामी प्रक्रियामा रहेको होटलले लिलामीबाट प्रिमियम समेत आम्दानी गर्नेछ ।
पछिल्लो तीन वर्षयता होटलको व्याज खर्च निरन्तर घट्दो क्रममा छ । आर्थिक वर्ष २०७९।८० मा ३५ करोड ३४ लाख र २०८०।८१ मा ३२ करोड ७३ लाख रुपैयाँ ब्याज खर्च रहेको होटलले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको थियो ।
कम्पनीले लाभको यात्रालाई अझ सुदृढ गर्न क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने अवस्था रहन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी गरेको होटलको सेवा दायरा बढ्दा उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्ने अवस्था बन्छ ।
गत वर्ष मात्र सिटी होटलले हायात सेन्ट्रिकसँग सहकार्य गर्दै हायात सेन्ट्रिक ब्राण्डबाट आफ्नो सेवा दिन थालेको थियो । सोभन्दा पहिले होटल हायात प्यालेस ब्राण्डमा सञ्चालनमा थियो । हायात सेन्ट्रिकमा रुपमान्तरण भएसँगै होटलको व्यवसायमा सकरात्मक असर परेको र त्यसले नोक्सान न्युनीकरणमा टेवा दिएको छ ।
नेपालमा पछिल्लो समय सञ्चालनमा आएका होटलहरुको निर्माण लागत, जग्गाको मूल्य र संरचना मूल्यांकनका आधारमा सिटी होटलको प्रतिस्थापन लागत निकै उच्च देखिन्छ । काठमाडौंको केन्द्र सोल्टी मोडमा रहेको सिटी होटल करिब ५ अर्ब लगानीमा निर्माण भएको हो । अहिले सोही स्थानमा सिटीजत्तिकै सुविधा सम्पन्न होटल निर्माण गर्दा करिब ७ देखि ८ अर्ब लागत लाग्ने अनुमान गरिन्छ ।
होटलले आयस्रोत बढाउन सुधारका अन्य विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारीले होटलको दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्नेछ । यसका साथै होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका टोलीहरुलाई आवास र भोजन सेवा उपलब्ध गराउने सहमति गरेको छ, जसबाट होटलको आम्दानीमा प्रत्यक्ष वृद्धि हुने देखिन्छ ।
होटल तथा हस्पिटालिटी क्षेत्र सुरुवाती चरणमा घाटा व्यहोर्ने व्यवसायमा पर्दछ । घाटा क्रमिक रुपमा घटाउँदै लगेमा मात्र व्यवसाय सफल भएको मानिन्छ । सिटी होटल लिमिटेड यस हिसाबले सफलताको सिढी चढ्दै गरेको देखिन्छ ।
२०७८ मा सञ्चालनमा आएको होटलको पछिल्लो तीन आर्थिक वर्षको वित्तीय विवरण केलाउँदा घाटा निरन्तर ओरालो लागेको देखिन्छ । आर्थिक वर्ष २०७९।८० मा २७ करोड २२ लाख रहेको घाटा २०८०।८१ मा २० करोड ३२ लाखमा झरेको थियो । गत आर्थिक वर्षमा यस्तो घाटा १९ करोड २० लाखमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।
सिटी होटलले हकप्रद निष्काशनका क्रममा बिक्री नभएको २१ लाख ५० हजार ४१८ कित्ता सेयरको लिलामी गरिरहेको छ । कात्तिक २३ गते आइतबारदेखि लकइनमा रहेका संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीको ६ हजार कित्ता तथा लकइनमा नरहेको सर्वसाधारण समूहको १ लाख ५४ हजार ४१९ कित्ता र सेयर लिलामीमा राखेको हो ।
कम्तीमा १०० रुपैयाँ प्रतिकित्ताको दरमा होटलको सेयरमा कात्तिक ३० गतेसम्ममा आवेदन दिन सकिन्छ । यसका लागि होटलको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा सम्पर्क गर्नुपर्ने हुन्क्छ । राजधानी बाहिर प्रभु बैंकका बिराटनगर, हेटौंडा, बीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।










प्रतिक्रिया