काठमाडौँ। नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको लागि दरखास्त आह्वान गरिएको छ ।
आज छनोट समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । ‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ आज जारी सूचनामा भनिएको छ ।
आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।
नेवानि महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्रीले सचिव मैनालीको संयोजकत्वमा १४ कात्तिकका दिन छनोट समिति गठन गरेकी थिइन् ।












प्रतिक्रिया