गैर बैंकयोग्य सम्पत्ति व्यवस्थापन गर्न विशेष संयन्त्र स्थापना गरियोस् : अध्यक्ष पौडेल


काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले अहिले बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

उनले बैंक तथा वित्तीय संस्थाहरूको मुनाफामा अनपेक्षित गिरावट आउनु र गैर(बैंकयोग्य सम्पत्तिको बोझ बढ्नु मुख्य चिन्ताको विषय रहेको उल्लेख गर्दै यसको व्यवस्थापनका लागि विशेष पहल गर्न सरकार र नेपाल राष्ट्र बैंकसमक्ष माग गरेका छन्।

शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको छौठौँ साधारण सभामा मन्तव्य दिँदै अध्यक्ष पौडेलले यस्तो माग गरेका हुन् । उनले भने, “धेरै बैंकहरू अहिले गैर बैंकयोग्य सम्पत्तिको बोझले थिचिएका छन् । न बिक्री हुने उचित नीति छ, न उपयोग गर्न पाउने अवस्था ।” उनले मुख्यतया तरलताको कारोबार गर्ने बैंकहरू अहिले सम्पत्ति व्यवस्थापनमा बढी केन्द्रित हुनुपर्ने अवस्था अत्यन्तै विडम्बनापूर्ण भएको बताए ।

उनले गैर बैंकयोग्य सम्पत्तिलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी विशेष प्रयोजनका निकाय वा सम्पत्ति पुनर्निर्माण मोडेल जस्ता अधिकारप्राप्त संयन्त्र तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले समुचित नीति तथा वातावरण बन्न नसक्दा वा नीतिमा स्थिरता कायम हुन नसक्दा नवप्रवर्तन र स्वउद्यमशीलताको विकास हुन नसकेको र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परेको भन्दै नीतिगत स्थिरताको आवश्यकता औँल्याएका छन् ।

सक्षम ऋणीहरूलाई पुनरुत्थानको अवसर प्रदान गर्न तथा हाल एक वर्षमा नै खराब श्रेणीमा वर्गीकृत हुने प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरूप पुनर्विचार गर्नुपर्ने उनको भनाई थियो ।

अध्यक्ष पौडेलले नेपालको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा टिकाइ राख्न फिनटेक, एआई, र डेटा विश्लेषण जस्ता प्रविधिहरूमा लगानी गर्न बैंकहरूलाई प्रोत्साहन गर्ने नीतिगत ढाँचा आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।