स्नातकोत्तर गरेका श्रवण व्यावसायिक कृषिमा


कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिका–१२ का ३५ वर्षीय श्रवण चौधरी स्नातकोत्तर तहसम्म अध्ययन गरेर व्यावसायिक कृषि कार्यमा लागेका छन् ।

चौधरी बिहान–साँझ खेत र पोखरीमा व्यस्त रहन्छन् । बिहान माछालाई चारो हाल्ने, पोखरीको व्यवस्थापनमा ध्यान दिने उनि दिउँसोपख भने अहिले मजदुरसँगै उखु रोप्ने कार्यमा जुट्ने गर्छन् । विद्यालय पढ्ने समयदेखि नै कृषि व्यवसायमा रुचि राख्ने चौधरीले आजसम्म त्यो कार्यलाई निरन्तरता दिइरहेका छन् । सुरुमा एउटा सानो पोखरीबाट सुरु गरिएको माछापालन अहिले पाँच वटा पोखरीमा परिणत भएको छ ।

दुई बिघा जग्गामा पाँच वटा पोखरी निर्माण गरी उनले कमन, रोहुँ, नैनी, ग्रास, भाकुर र सिल्भर जातका माछापालन गरेका छन् । उनका अनुसार पोखरीमा प्रत्येक वर्ष करिब २० क्विन्टल माछा उत्पादन हुने गर्छ । त्यसको बजार मूल्य ७ लाखदेखि ८ लाख ५० हजार रुपैयाँ सम्म पुग्ने गरेको छ ।

दाना, मलखाद, औषधोपचार र मर्मतमा करिब ३ लाखदेखि ४ लाख रुपैयाँ खर्च हुने हुँदा पाँच लाखदेखि ६ लाख रुपैयाँ सम्म शुद्ध आम्दानी हुने गर्छ । पोखरीमा उत्पादित माछा व्यापारी घरमै आएर ३५० रुपैयाँ प्रतिकिलो थोकमा खरिद गरेर लैजाने गर्दछन् । उत्पादनको अधिकांश माछा कैलालीको अत्तरियामा बिक्री हुन्छ भने केही स्थानीय बजारमै खपत हुन्छ ।

आधुनिक माछापालन प्रविधि सिक्न चौधरीले मत्स्यविकास केन्द्र, गेटा (कैलाली)बाट तालिम लिएका छन् । “माछापालन केबल पोखरीमा माछाका भुरा हालेर छाड्ने काम होइन”, उनि भन्छन्, “यसमा पोखरी व्यवस्थापन, पानीको गुणस्तर, चारोको सन्तुलन र रोग नियन्त्रणलगायत कुराहरुको सन्तुलन मिलाउन सक्नुपर्छ ।”

पढेर जागिर खानु सफलताको एकमात्र बाटो नभएको उनको भनाइ छ । उनले भने, “पढेलेखेको मान्छेले सीप र ज्ञानको प्रयोग कृषिमा गरे देशमै बस्दै राम्रो कमाइ गर्न सक्छ, घरपरिवार र समाजले सुरूमै जागिर खान दबाब दिएका हुन्, त्यो दबावलाई बेवास्ता गर्दै कृषिलाई आफ्नो व्यवसाय र जीवनशैली बनाए ।”

समाजले अहिले ‘उद्यमशील कृषक’का रूपमा सम्मान गर्न थालेकामा उनि गर्व गर्छन् । माछापालनसँगै चौधरीले पाँच बिघा जग्गामा उखुखेती पनि गरेका छन् । चौधरीले आफ्नो स्वामित्व जग्गा पाँच बिघा जति रहेको छ । त्यसमध्ये दुई बिघामा पोखरी बनाएर माछापालन छ भने दुई बिघा स्वामित्वको जग्गामा र बाँकी तीन बिघा जग्गा भाडामा लिएर उनले विसं २०६५ देखि उखुखेती गरेका छन् ।

पाँच बिघा जग्गामा गरिएको खेतीबाट वार्षिक रूपमा उनले २० लाख रुपैयाँको उखु बिक्री गर्ने गर्छन् । मजदुर, सिँचाइ, जोताइ, बीउ, मलखाद र ढुवानी खर्च कटाएर १५ लाख रुपैयाँसम्म नाफा हुने उनि बताउछन् । “चिनी उद्योग खुलेपछि उखु बेच्न सहज भएको छ”, उनि भन्छन्, “उद्योग नखुलेका बेला घरमै कोल्हुमा गुड उत्पादन गरेर बजार पठाउँथे ।” अहिले चिनी उद्योग सञ्चालना आएपछि उखु बेच्ने झन्झट भने नभएको उनको भनाइ छ ।

माछा र उखुखेतीबाट प्राप्त आम्दानीले चौधरीले बस्नका लागि गाउँमै पक्की घर निर्माण गरेका छन् । खेत जोत्नका लागि ट्रयाक्टर खरिद र कार किन्नेसम्मका सपना पूरा गरेका छन् । “सबै लगानी कृषिबाटै सम्भव भएको हो”, उनि भन्छन्, “म अब अरूलाई पनि कृषि पेसामा आउन प्रेरित गर्न चाहन्छु ।”

उखु र माछा मात्रै नभएर चौधरीले चैते धान र बर्खे धानखेती पनि गर्छन् । हिउँदमा गहुँखेतीलाई पनि निरन्तरता दिँदै आएको उनि बताउछन् । यसबाट पनि उनले अतिरिक्त आम्दानी लिँदै आएका छन् । जागिर पाउनु वा विदेश जानुमात्र जीवन नभएको उल्लेख गर्दै उनले सीप प्रयोग गरेर स्वदेशमै सम्भावना खोज्न सकिने बताए । रासस

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।