घट्यो बैंकहरूको प्रतिसेयर आम्दानी, कुन बैंकको कति छ ? (सूचीमा हेरौं)


काठमाडौं । अर्थतन्त्रको सुस्तताका कारण नाफा घट्दा बैंकहरूको प्रतिसेयर आम्दानीमा पनि संकुचन आएको छ । गत असारसम्मको तुलनामा २०८२ असोजसम्ममा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा ५ रुपैयाँ २९ पैसा घटेको छ ।

गत असारमा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी १९.४४ रुपैयाँ रहेकोमा असोजसम्ममा यो घटेर १४.४५ रुपैयाँमा झरेको छ ।

गत भदौ २३ र २४ मा भएको हिंसात्मक आन्दोलनपनि निजी क्षेत्रको अवस्था बिग्रँदा त्यसको असर बैंकसम्म पुगेको बैंकरहरू बताउँछन् ।

गत असारको तुलनामा असोजमा २० मध्ये ७ वटा वाणिज्य बैंकको मात्रै प्रतिसेयर आम्दानी बढेको उनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।

तीन महिना अवधि (साउन–असोजसम्म)मा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कुमारी बैंकको बढेको छ । यस बैंकको प्रतिसेयर आम्दानी गत असारमा ८.०७ रुपैयाँ रहेकोमा असोजसम्ममा ८.०४ रुपैयाँ बढेर १६.११ रुपैयाँ पुगेको छ ।

चालु आवको तीन महिनासम्ममा सबैभन्दा बढी प्रतिसेयर आम्दानी कृषि विकास बैंकको घटेको छ । गत असारमा २७.६३ रुपैयाँ रहेको यस बेंकको प्रतिसेयर आम्दानी असोजमा आइपुग्दा १७ पैसामा सीमित भएको छ ।

यस्तै सिटिजन्स बैंक इन्टरनेसनलको प्रतिसेयर आम्दानी भने ऋणात्मक रहेको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक छ । जबकी गत असारमा यस बैंकको प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ थियो ।

 

 

 

 

 

 

 

 

 

चालु आवको असोजको विवरण अनुसार एभरेष्ट बैंकको अन्य १९ वटा वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी प्रतिसेयर आम्दानी छ । असोजसम्ममा यस बैंकको प्रतिसेयर आम्दानी ३६.४४ रुपैयाँ रहेको वित्तीय विवरणले देखाएको छ । यद्यपी गत असारको तुलनामा भने यस बैंकको प्रतिसेयर आम्दानी १.५५ रुपैयाँले घटेको छ ।

एभरेष्ट पछि स्ट्याण्डर्ड चार्टड बैंककको प्रतिसेयर आम्दानी २७.५७ रुपैयाँ छ । गत असारमा यस बैंकको प्रतिसेयर आम्दानी ३०.१७ रुपैयाँ रहेकोमा तीन महिनाको अवधिमा २.६ रुपैयाँ गिरावट आएको हो ।

यस्तै नबिल बैंकको प्रतिसेयर आम्दानी असोजसम्ममा २५.९४ रुपैयाँ छ । गत असारमा २०.७४ रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी तीन महिनामा ५.२ रुपैयाँले वृद्धि भएको हो ।

नबिलसँगै प्राइम, एनएमबी, ग्लोबल, नेपाल एसबीआई, कुमारी, हिमालयन र एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी बढेको छ ।

पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले कुल १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

प्रतिसेयर आम्दानी बैंकको कुल नाफालाई कुल सेयर संख्याले भाग गरेर निकालिन्छ । नाफा घट्दा उनीहरूको प्रतिसेयर आम्दानी पनि घट्न जान्छ भने नाफामा सुधार आउँदा प्रतिसेयर आम्दानीमा पनि सुधार आउँछ । त्यसकारण बैंकको वित्तीय विवरण जति सुध्रन्छ त्यति नै प्रतिसेयर आम्दानी जस्ता सूचकको अवस्था पनि सुध्रने हुन्छ । अहिले अर्थतन्त्रको सुस्तता बैंकहरूमा पर्दा प्रतिसेयर आम्दानी तथा नाफामा गिरावट आएको हो ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  ०९ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।