पहिलो चौमासिकमा काठमाडौँ महानगरपालिकाको खर्च १२.९४ प्रतिशत, कति उठ्यो राजश्व ?


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । महानगरको कुल विनियोजित बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये ३ अर्ब २४ करोड ७५ लाख १५ हजार रुपैयाँ खर्च भएको हो ।

यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको छ ।

महानगरले सबैभन्दा धेरै खर्च कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा गरेको छ । प्रशासनिक क्षेत्रमा कुल ३ अर्ब २५ करोड ९८ लाख ८० हजार रुपैयाँमध्ये १ अर्ब ३३ करोड १ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै पर्यटन क्षेत्रमा विनियोजित बजेटको २५.५८ प्रतिशत बजेट खर्च भएको छ ।

यता, सहकारी क्षेत्रमा १ करोड ४४ लाख रुपैयाँ विनियाजन भएकोमा थियो । सो शिर्षकमा महानगरले खर्च गरेको छैन । यस्तै, वित्तिय क्षेत्रमा विनियोजित बजेटको ०.८३ प्रतिशत खर्च भएको छ भने पशुपन्छी विकासमा ३.५४ प्रतिशत खर्च गरेको छ ।

यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ । यस वर्ष वडाहरुतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च गर्ने वडाहरुमा वडा नं. २ ले १२.८१ प्रतिशत, वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ । उनकाअनुसार वडा नं. १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ को १२.८४, वडा नम्बर २७ को १४.४४ प्रतिशत वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् ।

यता, महानगरले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजश्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अर्ब १६ करोड ७६ लाख १४ हजार६ सय ५७ रुपैयाँ संकलन भएको थियो ।

चालु आर्थिक वर्षका चार महिनामा महानगरले आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ ।

महानगरले सम्पत्ति करतर्फ ४२ करोड ७६ लाख ५४ हजार २ सय ७६ रुपैयाँ संकलन गरेको छ र्। १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५ सय ७० रुपैयाँ वहाल कर संकलन गरेको महागरले २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ व्यवसाय कर संकलन गरेको छ । यस्तै, भवन नक्शा शुल्क ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँ संकलन गरेको महानगरले जनाएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।