जेनजी आन्दोलनको प्रभाव : लगानीकर्तामा त्रासको वातावरण कायम हुँदा सहुलियत कर्जा लिनेहरु घटे 


काठमाडौँ । जेनजी आन्दोलनमा भएको विध्वंसका कारण उद्योगी–व्यवसायीमा त्रासको वातावरण कायम रहँदा निजी क्षेत्रतर्फको लगानी खस्किएको छ । यसको प्रत्यक्ष असर ब्याज अनुदानमा सरकारले प्रदान गर्ने सहुलियत कर्जा लिने ऋणीहरूको संख्यामा देखिएको छ ।

जेनजी आन्दोलनपछि उद्योग–व्यवसाय पूरानै लयमा फर्किन नसक्दा बैंकमा सहुलियत सहुलियत ऋणबाट लाभ लिने ऋणीहरुको संख्या घट्दै गएको छ । राष्ट्र बैंकको तथ्यांक हेर्दा सहुलियतमा ऋण लिनेको संख्या घट्दै गएको देखिएको हो ।

सहुलियत ऋणमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विभिन्न शीर्षकमा ऋण लिनेको संख्या ८५ हजार लाख २५२ जना रहेको छ । उक्त संख्याका ऋणीहरुले ६ अर्ब ९१ करोड २९ लाख रुपैयाँ ऋण लिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत वर्षको तुलनामा यो वर्ष ३० हजार २५३ जना ऋणीहरु घटेका छन् । ऋणीहरु घट्दा ऋण रकम पनि ४ अर्ब ६६ करोड ३८ लाख रुपैयाँले घटेको छ । गत आव २०८१/८२ को सोही अवधिमा १ लाख १६ हजार १०८ जना ऋणीले ११ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ ऋण लिएका थिए ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता  भए पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन् । जेनजी आन्दोलनको विध्वंसले गर्दा लगानीको वातावरण खलबलिएको र निजी क्षेत्रको मनोबल कमजोर बनेर त्रास कायम रहेको उनको भनाइ छ । बैंकमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण बन्न नसकेको प्रवक्ता पौडेलले बताए ।

उनका अनुसार लगानीका लागि सबैजसो क्षेत्र खुला भए पनि लगानीकर्ताको मनोबल कमजोर बन्दा लगानीमा वृद्धि हुन सकेको छैन । ‘विगतमा बैंक, बिमा, एयरलाइन्स, दूरसञ्चार, शिक्षा, स्वास्थ्य र घरजग्गा जस्ता क्षेत्रमा हुने गरेको लगानी अहिले विस्तार हुन सकेको छैन’ उनले भने । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा खोज्ने भएकाले हाल सुरक्षाको प्रत्याभूति नहुँदा नयाँ कर्जाको माग नै नबढेको र कर्जा प्रक्रियामा रहेकाहरूले समेत चासो नदेखाएको पौडेलले बताए ।

पछिल्लो समय ठूला लगानीकर्ताहरूले कर्जा माग नै गर्ने आट नगरेको पौडेलले सुनाए । कर्जा प्रक्रियामा रहेकाहरूले समेत चासो नदेखाएको उनको भनाइ छ । ‘लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा खोजेर लगानी गर्ने हो । पछिल्लो समयसुरक्षाको प्रत्याभूति नभएर नै होला नयाँ कर्जाको माग नै बढेको छैन,’ उनले भने, ‘कर्जा माग गरेकाहरूले पनि अहिले नचाहिने भन्दै चासो देखाइरहेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको लगानीयोग्य पुँजीलाई तत्काल चलायमान बनाउन आवश्यक रहेको उद्योगीहरु बताएका छन् । यसका लागि राष्ट्र बैंकले कर्जा मार्गदर्शन र कर प्रणालीमा व्यापक सुधार गर्नुपर्ने उनीहरुको भनाइ छ ।

घरजग्गा तथा सेयरबजारमा धेरै व्यवसायीको पैसा फस्दासमेत अर्थतन्त्र चलायमान हुन सकेको छैन । जग्गाको कारोबारलाई सरकारले सहज बनाए बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य पैसा व्यावसायिक घरानामा जाने देखिन्छ ।

सहज रूपमा जग्गाको कारोबार गर्न नपाउँदा व्यवसायीहरूले ऋण लिन नसकेको उनीहरूको भनाइ छ । व्यवसायीले नाफाका लागि जोखिम लिने भएकाले सरकारैपिच्छे नीति फेर्न नहुने उद्योगी व्यवसायीको भनाइ छ ।

अन्तरिम सरकार भएर पनि लगानीकर्तामा उत्साह नभएको जस्तो देखिएको प्रवक्ता पौडेल बताउँछन् । चुनाव भएर नयाँ सरकार नआएसम्म यही अवस्था नै रहन्छ कि भन्ने अनुमान उनको छ । ‘चुनाव भएर नयाँ सरकार आएपछि लगानीकर्ताको मनोबल उच्च भएर लगानी बढ्छ कि जस्तो लाग्छ,’ पौडेलले भने, ‘अहिलेकै अवस्थामा बैंकको कर्जा बढ्छ जस्तो लाग्दैन ।’

तर, माग बढ्ने नीति ल्याए वा बजार चलायमान भएर फाइदा हुने जस्तो देखे व्यवसायीले लगानी बढाउन कुनै पनि सरकार नकुर्ने व्यवसायीहरु बताउँछन् । नीतिगत व्यवस्था व्यक्तिपिच्छे नफेरेर राष्ट्रको हितमा र बजारमा माग बढाउने खालका भए व्यापारीहरूले लगानी बढाउने उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।