काठमाडौँ । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ ।
सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्न सकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।
गत असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ सङ्कलन गरेको थियो ।












प्रतिक्रिया