नबिल बैंकले पायो धितोपत्र बोर्डबाट प्रिफरेन्सियल शेयर जारी गर्ने अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलोपटक नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफरेन्सियल) शेयर निष्काशनको अनुमति प्रदान गरेको छ।

बोर्डले नबिललाई ८ प्रतिशत लाभांश दरमा ५ करोड कित्ताका लागि अविमोच्य अंसचिति अग्राधिकार शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

यो शेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो। परिपत्र विधिबाट निष्काशन हुने यो शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् भने व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार यो शेयर संस्थापक समूहको साधारण शेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र कम्पनीले लाभांश वितरण गर्दछ। नोक्सानीमा रहेको वर्ष र संचित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असंचिति प्रकृतिको अग्राधिकार शेयर भनिएको हो  ।

के हो अविमोच्य असञ्चिति अग्राधिकार शेयर  ?

सामान्य अर्थमा अविमोच्य असञ्चिति अग्राधिकार शेयर (प्रपेञ्चुअल नन कुमुलेटिभ प्रिफरेन्स शेयर)  भनेको कुनै पनि बैंक तथा वित्तीय संस्थाको साधरण शेयरको तुलनामा प्राथमिकता प्राप्त अथवा प्रोमोटर इक्विटी शेयर जस्तै हो । यसलाई अग्राधिकार शेयर पनि भनिन्छ । प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ ।

धितोपत्र बोर्डका अनुसार २००७-०९ को विश्वव्यापी वित्तीय संकटको अनुभवपश्चात् वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन यस्तो उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएको परिप्रेक्ष्यमा नेपालमा भने पहिलोपटक निष्काशन हुन लागेको हो ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४  मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्काशनको अनुमति प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

यो उपकरण दोस्रो बजारमा सूचिकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन्।अग्राधिकार शेयरधनीमा निहित अधिकारहरू भने विवरणपत्रमा कम्पनीले उल्लेख गरे बमोजिम हुनेछ । कम्पनी विघटनको समयमा यस शेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि र कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पूँजीभन्दा पछाडि रहन्छ ।

यो उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पुँजीगत संरचना सुदृढ बनाउने हुँदा वित्तीय संकटको जोखिमलाई न्यूनिकरण गर्ने र वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्न सहज पुग्न सक्ने देखिन्छ ।

साथै, लगानीकर्तालाई पनि लगानीको नयाँ उपकरण उपलब्ध हुनेछ । यद्यपि, यो शेयर अविमोच्य र अंसचिति प्रकृतिको भएकोले संस्थागत लगानीकर्ताले लगानी गर्नु अगाडि विवरण पत्र र रिस्क डिस्क्लोजर स्टेटमेन्ट राम्रोसँग अध्ययन गर्नु अनिवार्य छ। साथै, आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता हेरेर मात्र लगानी गर्न उपयुक्त हुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार  १४ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।