कर्णालीमा कृषि बालीको क्षेत्रफलसँगै उत्पादनमा पनि गिरावट, कृषि कर्जा लगानी पनि घट्यो


काठमाडौँ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कृषि बाली लगाउने क्षेत्रफल र उत्पादन दुबैमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा समग्र बालीले ढाकेको क्षेत्रफलमा ६.०६ प्रतिशतले गिरावट आएको हो ।

समग्र प्रदेशभरिमा धान बालीले ढाकेको क्षेत्रफलमा ५.११ प्रतिशतले गिरावट आएको छ । मकैले ढाकेको क्षेत्रफलमा ४.१६ प्रतिशतले, गहुँमा ४.८६ प्रतिशत र कोदोले ढाकेको क्षेत्रफलमा ११.५२ प्रतिशतले गिरावट आएको छ । यस्तै जौले ढाकेको क्षेत्रफलमा १.३९ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधिमा दलहन, तरकारी र बागवानी बालीको क्षेत्रफलमा १४.९१ प्रतिशतले ह्रास आएको छ भने फलफुल बालीले ढाकेको क्षेत्रफलमा २.४० प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुुलनामा गत आर्थिक वर्षमा प्रदेशको समग्र कृषि बालीको उत्पादनमा पनि कमि आएको छ । यो अवधिमा कृषि उत्पादन ५.०१ प्रतिशतले घटेको छ । जसमा विशेष गरेर खाद्य, नगदे तथा अन्य बालीको उत्पादनमा ३.९५ प्रतिशतले गिरावट आएको छ ।

यस्तै प्रमुख खाद्य बाली धानको उत्पादन १०.२५ प्रतिशतले घट्दा गहुँको उत्पादनमा १७.३१ प्रतिशतले गिरावट आएको छ । कादो र जौको उत्पादनमा क्रमशः २२.९२ प्रतिशतले र ८.५५ प्रतिशतले गिरावट आउँदा मकैको उत्पादनमा ४.२४ प्रतिशतले गिरावट आएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा तरकारीको उत्पादनमा ०.८८ प्रतिशत र बागवानी बाली उत्पादनमा ३६.४१ प्रतिशतले कमि आएको छ । प्रदेशभरिमा यो अवधिमा फलफुल उत्पादनमा ९.५२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा सुन्तलाको उत्पादनमा ६.०५ प्रतिशत, आँप ११ प्रतिशत र स्याउको उत्पादनमा १२.१३ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा प्रदेशको कुल खाद्य तथा बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २३.५७ प्रतिशत सल्यानको रहेको छ भने सबैभन्दा कम हिस्सा १.५३ प्रतिशत रहेको छ । त्यस्तै तरकारी उत्पादनमा पनि सल्यानको हिस्सा सबैभन्दा बढी ४६.२० प्रतिशत र सबैभन्दा कम मुगुको ०.९१ प्रतिशत योगदान रहेको छ । यस्तै फलफुलको उत्पादनमा सबैभन्दा बढी हिस्सा जुम्लाको २५.०४ प्रतिशत र सबैभन्दा कम रुकुम पश्चिमको २.४४ प्रतिशत रहेको छ ।

अर्गानिक र रैथाने कृषि उपजहरुको पर्याप्त बजार पहुँ र प्रभावकारी वितरणका लागि आवश्यक यातायात सुविधा, चिस्यान केन्द्र लगायत भौतिक पूर्वाधारहरुको अभावको कारण उत्पादनमा कमि आएको राष्ट्र बैंकले जनाएको छ । यसका साथै भौगोलिक विकटताका कारण खेतीयोग्य क्षेत्रफलमा सिँचाई सुविधा उपलब्ध नहुने पनि उत्पादनमा कमि आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेसभरि यो अवधिमा कृषि कर्जा लगानीमा पनि गिरावट आएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग् कृषि क्षेत्रमा प्रवाहित कर्जामा ७.७० प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेशमा कुल ५ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी भएकोमा गत आर्थिक वर्षमा जम्मा ४ अर्ब ९८ करोड रुपैयाँ मात्र कर्जा लगानी भएको छ ।
यो अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह सुर्खेतमा भएको छ । उत्पादनको आधारमा सबैभन्दा बढी उत्पादन सल्यानमा भएको छ भने कर्जा प्रवाह सुर्खेतमा भएको छ । सुर्खेतमा १ अर्ब ७६ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । सल्यानमा त्यसको आधा मात्रमा पनि कर्जा प्रवाह हुन सकेको छैन् । यो अवधिमा सल्यानमा ६१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

रुकुम पश्चिममा ६० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । उक्त समयमा सबैभन्दा कम १२ करोड ८४ लाख रुपैयाँ र कालीकोटमा १४ करोड १६ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

 

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।