काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार डिशहोम गो एपले भारत बाहेक विश्वभर प्रत्यक्ष प्रसारण गरेको छ ।
उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडौ गोर्खा बीचको रोमाञ्चक भिडन्त दुई लाखभन्दा बढी दर्शकसँग प्रत्यक्ष देखाउन सफल भएको डिशहोमले जनाएको छ ।
उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न असमर्थता अनुभव गरेका भए पनि यो समस्या केवल डिशहोम गोको नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको जनाकारी गराएको छ । सो समयमा एनपिएल सिजन पासको सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेका थिए । एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्षम भएका थिए ।
एपका इञ्जिनियरहरू र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्याहरु समाधान भएका थिए । दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपिएल सिजन पास को सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको थियो ।
यसैगरी, दोस्रो र तेस्रो दिनको खेलमा लगभगसबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भइसकेका छन् । एपका आधिकारिक च्यानलहरु मार्फत प्राप्त हजारौं अनुरोधहरूलाई प्रणालीबाट एकैचोटि सक्रिय गराइएको डिशहोमले जनाएको छ । यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको छ ।
बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपिएल सिजन पास को भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ । खल्ती तथा इसेवा बाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने सुविधा रहेको छ । प्रत्येक व्यक्तिले आवश्यक अनुसार जतिसक्दो भौचर खरिद गर्न सक्ने सुविधा उपलब्ध गरिएको छ, जसले घरपरिवार र साथीभाईलाई पनि सहकार्य गर्न तथा मोबाइलमार्फत सजिलै एनपिएल हेर्न सहयोग पु¥याउने कम्पनीले जनाएको छ ।
डिशहोमले यो चुनौतीपूर्ण कार्य सफलता पूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यो एप अब राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्म बन्ने यात्रा अघि बढाइरहेको छ र विश्वभरका लोकप्रिय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ ।
एपका आधिकारिक प्रवक्ताले भने, “हामीले सामना गरेका प्राविधिक चुनौतीहरू हाम्रो मात्र नभई, विभिन्न संलग्न पक्षहरूको प्रक्रियासँग सम्बन्धित थिए । यसै कारण पहिलो दिन सबै प्रयोगकर्तालाई सहज अनुभव दिन विभिन्न कठिनाई हुँदा निशुल्क हेर्ने व्यवस्था गर्दा करिब २ लाख दर्शकहरुले सजिलै हेर्न पाएका थिए। दोस्रो र तेस्रो दिनदेखि सबैले पूर्ण रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने स्थिति आएको छ । हामी यस उपलब्धिलाई नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि मान्छौं । यस क्रममा दर्शक महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै यहाँहरुको दोहोरिएको भुक्तानी रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।










प्रतिक्रिया