काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित “एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” दोस्रो खुलामुखी म्यूचुअल फण्ड योजना हो। नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो फण्डमा जोखिम न्यूनिकरण, निरन्तर प्रतिफल अभिमुख लगानी रणनीति तथा बजार–सम्बद्ध प्रतिफल जस्ता विशेषताहरू समावेश गरिएको क्यापिटलले जनाएको छ।
यस योजनाको संकलित कोषमध्ये धेरैजसो रकम नेपाली पूँजी बजारमा सूचिकृत कम्पनीहरू मध्ये भविष्यमा स्थिर र आकर्षक प्रतिफल दिन सक्ने कम्पनीहरूमा लगानी गरिने क्यापिटलले जानकारी दिएको छ। एनआईसी एशिया क्यापिटलले यसलाई “वृद्धि अभिमुख” फण्डका रूपमा सञ्चालन गर्दै आएको छ।
योजनाको पहिलो चरणअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रूपमा निष्कासन गरिएको थियो। सो अवधिमा ८२ हजार ७३७ जना लगानीकर्ताबाट ७४ लाख १७ हजार इकाइ बराबरको आवेदन प्राप्त भएको थियो, जुन कुल मागको १.४८ गुणा बढी हो। योग्य आवेदन दिने सबै लगानीकर्तालाई भदौ १६ गते इकाइ वितरण गरिएको थियो।
नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको विवरण–पत्र अनुसार “पहिलो चरणको बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र योजनालाई नियमित खरिद–पुनर्खरिदका लागि खुला गर्नुपर्ने” प्रावधानअनुसार योजना नियमित कारोबारका लागि आज, मंसिर १५ गतेदेखि खुला गरिएको छ।
हालका लागि योजनाको इकाई खरिद तथा पुनर्खरिद प्रक्रिया एनआईसी एशिया क्यापिटलको रजिस्टर्ड कार्यालय, ट्रेड टावर नेपाल, थापाथली–काठमाडौंबाट गर्न सकिने व्यवस्था मिलाइएको छ। निकट भविष्यमै मोबाइल एप, अनलाइन पोर्टल, डिजिटल भुक्तानी माध्यम लगायतका प्राविधिक सेवामार्फत पनि इकाई खरिद–पुनर्खरिद गर्न सकिने क्यापिटलले जनाएको छ।












प्रतिक्रिया